२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

कर्णालीमा १ हजार ३० उजुरी



स्काई न्यूज / असार २७, सुर्खेत ।
कर्णाली प्रदेशमा भ्रष्टाचार र अनियमितता विरुद्ध १ हजार ३० ओटा उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा चालू आवको जेठ मसान्तसम्म उक्त संख्यामा उजुरी परेका हुन् । गत आवको तुलनामा चालू आवमा उजुरीको संख्या बढेको आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए । ‘गत आव २०७५/७६ मा सुर्खेत कार्यालयमा ७८३ उजुरी परेका थिए,’ उनले भने, ‘चालू आव २०७६/७७ को जेठ मसान्तभित्रै १ हजार ३० उजुरी परेका छन् ।’ असार मसान्तसम्म उजुरीको संख्या अझै बढ्ने अनुमान आयोगको छ । भ्रष्टाचार र अनियमितताका घटनामा तेस्रो पक्ष प्रयोग गर्ने र चेकको कारोबार गर्ने जस्ता प्रवृत्तिले घुस लिने स्वरूप फेरिएको पाइएको सापकोटाले बताए ।
कर्णाली अनियमितताका सबैभन्दा धेरै उजुरी सुर्खेतबाट परेका छन् । सुर्खेतबाट २१८ उजुरी परेका हुन् । यस्तै दैलेखबाट १७८, जाजरकोटबाट १४२, कालीकोटबाट ९७, जुम्लाबाट ८२, रुुकुम पश्चिमबाट ७६, सल्यानबाट ७५, हुम्लाबाट ६३ र मुगुबाट ५३ उजुरी आयोगमा परेको बताइएको छ ।

डोल्पाबाट सबैभन्दा कम ४६ ओटा उजुरी परेका छन् । त्यसैगरी कर्णालीका ७९ स्थानीय तहमध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका, कालीकोटको खाडाचक्र नगरपालिका, सल्यानको शारदा नगरपालिका, मुगुको छायानाथ रारा नगरपालिका, डोल्पाको ठूलीभेरी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, रुकुमपश्चिमको मुसीकोट नगरपालिका, हुम्लाको सिमीकोट गाउँपालिका र जाजरकोटको भेरी नगरपालिकाबाट धेरै उजुरी आएको आयोग सूचना अधिकारी सापकोटाले जानकारी दिए । जेठ मसान्तसम्ममा कर्णालीका ७९ स्थानीय तहबाट ५२६ उजुरी परेका छन्, जसमध्ये २६९ ओटा फछ्र्योट भएको र २६९ अनुसन्धानमा रहेको बताइएको छ । यस्तै प्रदेश सरकार अन्तर्गत विभिन्न कार्यालयमा गरी १९९ ओटा उजुरी परेकोमा ९७ ओटा फछ्र्योट गरिएको छ भने १०२ ओटा उजुरी अनुसन्धानकै क्रममा छन् । कार्यालयका अनुसार स्थानीय तह र शिक्षामा बढी उजुरी परेका छन् ।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिबार
Translate »