६ महीनापछि शुरु हुन लागेको आन्तरिक उडानका लागि ५०% टिकट बुकिङ

असोज ३, काठमाडौं ।
कोभिड–१९ महामारीका कारण विगत छ महीनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महीना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य संठनको स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गर्नेछन् । यही असोज ५ गतेदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन् । शुक्रवारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सले बताएका छन् । अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको बताइएको छ । शुरुआती चरणमा एयरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए । ‘असोज ५ गतेदेखि सबै प्रकारका आन्तरिक उडान शुरु हुँदैछन् ।

शुरुआती चरणमा बुकिङ उत्साहजनक छ, यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान बढाइनेछ’, उनले भने । एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने बताइएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने संघले बताएको छ । शुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ । छिट्टै उडान संख्या वृद्धि गरिने कम्पनीले बताएका छन् ।नियमित उडानको सम्पूर्ण व्यावसायिक तयारी गरेको बुद्ध एयरले पहिलो साता २० देखि २२ उडान गर्नेछ । बुद्धले आफ्ना सबै गन्तव्यमा उडान गर्ने बताएको छ । बुकिङ उत्साहजनक रहेको र यात्रुको मागअनुरुप उडान संख्या बढाउँदै लगिने कम्पनीले बताएको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीका तर्फबाट आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार यती एयरलाइन्सको अहिले ५० प्रतिशत बुकिङ भइसकेको छ । शुरुमा करीब दैनिक १० उडान हुनेछ । अहिलेलाई विराटनगर, पोखरा र चीतवनमा दैनिक दुई तथा अन्य गन्तव्यमा एक–एक ओटा उडान गरिनेछ ।

सामान्यको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न भनेकाले कम उडान संख्या निर्धारण गरिए पनि क्रमशः यात्रुको मागअनुरुप उडान बढाउँदै लगिने प्रवक्ता बर्तौलाले उल्लेख गरे । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए । शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शतप्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी ५ असोजदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् । शुरुमा आन्तरिक उडानका जहाजले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएको थियो । व्यवसायीले विरोध जनाएपछि शतप्रतिशत यात्रु राखेर उडाउने निर्णय गरिएको हो । महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान प्रतिबन्ध थियो । अन्तरराष्ट्रिय उडान भने भदौ १६ देखि सञ्चालनमा आएको छ । असोज १ देखि अन्तरराष्ट्रिय उडान संख्या बढाउनाका साथै सार्वजनिक यातायातका साधन पनि सञ्चालनमा आएको छ । बन्दाबन्दीको छ महीनापछि होटल तथा रेस्टुरा व्यवसाय पनि शुरु भइसकेको छ ।

Translate »