भारतमा विद्यालय र सिनेमा घर खोलिँदै‚ यस्ता छन् शर्त

असोज १५, एजेन्सी ।
चाडपर्व नजिकिएसँगै भारतमा कोरोनाकेन्द्रित प्रतिबन्ध खुकुलो पारिने भएको छ। ‘अनलक–५’ को घोषणा गर्दै सरकारले प्रतिबन्धित क्षेत्रलाई खुकुलो पार्न लागेको हो। यातायात तथा पसलहरू खुले पनि विद्यालय‚ सिनेमा घर‚ मनोरञ्जन पार्क आदि लामो समयदेखि बन्द रहँदै आएका थिए। आउँदो १५ अक्टोबरबाट स्कुल तथा कलेजहरू सञ्चालनमा आउने छन्। यद्यपि, स्थानीय सरकार र सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूलाई यसबारे अन्तिम निर्णय लिन भनिएको छ। १० वर्षमुनिका बालबालिकालाई जोखिम समूहमा राखेको केन्द्र सरकारले विद्यार्थीलाई विद्यालय पठाउनेबारे अभिभावकसँग सहमति लिन पनि भनिएको छ।

साथै‚ हाजिरी अनिवार्य नगर्ने र दूर शिक्षालाई पनि प्रोत्साहित गर्न सुझाइएको छ। १५ दिनपछि स्कुलसँगै सिनेमा घर‚ मल्टिप्लेक्स‚ प्रदर्शनी हल तथा मनोरञ्जनात्मक पार्क पनि सञ्चालनमा आउनेछन्। सिनेमा घरलाई ५० प्रतिशत भन्दा धेरै दर्शक नराख्ने गरी अनुमति दिइएको हो। सर्तसहित १०० जनासम्मलाई भेला हुन दिनेबारे राज्य सरकारले निर्णय गर्न सक्नेछ। राज्यभित्र र अन्तरराज्य आवतजावतमाथि रोक लगाइने छैन। बिरामी‚ वृद्धवृद्धा‚ गर्भवती र १० वर्षमुनिका केटाकेटीलाई घरैमा बस्न सल्लाह दिइएको छ। कार्यालयहरूले अनिवार्य रुपमा थर्मल स्क्रिनिङ र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ। घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र एकअर्काबीच दूरीको ख्याल राख्न भनिएको छ। ‘अनलक–५’ अन्तर्गत जारी गरिएका नियम पालना नगर्नेलाई कडा कारबाहीको चेतावनी दिइएको छ। (थाहा खबर)

Translate »