बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
कात्तिक २, बर्दिया ।
कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जंगल सफारीका लागि खुला गरिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बाह्य तथा आन्तरिक पर्यटकका लागि निकुञ्जक्षेत्र पूर्णरुपमा बन्द गरिएकामा आइतवारदेखि खुला गरिएका कारण ठाकुरद्वारामा चहलपहल पनि बढ्न थालेको छ । निश्चित क्षेत्र तोकेर पर्यटकीय गतिविधि सञ्चालन गरेको निकुञ्ज प्रशासनले तोकिएका मार्गमा मात्रै जंगल सफारी र सवारी साधनमा समेत यात्रा गर्न पाउने गरी खुला गरिएको छ ।
साधनबाट यात्राका लागि भने सिट क्षमताको बढीमा ६० प्रतिशत मात्र पर्यटक राख्न पाइने र पैदल यात्राका लागि भने एक पटकमा पथप्रदर्शकसहित चार पर्यटक मात्र प्रवेश गर्न पाइने निकुञ्जका सहायक संरक्षण अधिकृत महेश्वरप्रसाद निरौलाले बताए । यस क्षेत्रमा पर्यटकलाई लक्षित २९ ओटा सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालन गरिएका छन् । ती होटल तथा रिसोर्टहरूमा रू.३ अर्ब ५० करोडभन्दा बढीको लगानी रहेको छ । (आर्थिक अभियान)