नाकाबाट पर्यटक धमाधम फर्काईंदै

स्काई न्यूज / कात्तिक १९,डोल्पा ।
हिमाली जिल्ला डोल्पाका सिमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिमलाई मध्येनजर राख्दै उच्च सतर्कता अपनाउन कोरोना परिक्षण रिपोर्ट बिना नाकामा पुगेका दर्जनौं पर्यटकहरु फर्काइएको हो । नाकामा प्रहरीले कडाई गरेपछि बिसौँ हजार खर्च गरेर नाकामा पुगेका आन्तरिक पर्यटकहरु गन्तव्यमै पुग्न नपाएर घर फर्किने गरेकाछन् । हालसम्म खदाङ्ग नाकाबाट मात्रै पच्चिस जना आन्तरिक पर्यटकहरु फर्काइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकनका लागि नाकामा पुगेका कतिपय पर्यटकहरु कोरोना परिक्षण रिपोर्ट बिना नै आउने गरेकाले उनीहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको इलाका प्रहरी चौकी करोपगाडले जानकारी दिएको हो । नेपालका प्रायःजिल्लामा कोराना संक्रमण भएपनि सबैको प्रयासले डोल्पालाई अझैसम्म पनि सुरक्षित राख्न सफल भएकोले जिल्लाका सिमावर्ती नाकामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताए । जिल्लाबासीलाई पनि कोरोना परिक्षण रिपोर्टसहित होम क्वारेन्टिइनमा बस्ने शर्तमा मात्रै प्रवेश गर्न दिएको प्रजिअ सुनारले जानकारी दिए ।

विभिन्न जिल्लाबाट डोल्पा घुम्नका लागि आएका पर्यटकका लागि ७२ घण्टा अघिको कोरोना परिक्षण रिपोर्टसहित आफ्नै खर्चमा क्वारेन्टिनमा बस्ने शर्तमा जिल्ला प्रवेश गर्न दिने भएता पनि सकभर कोरोना कहरमा आफु पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित राख्नु पर्ने भएकाले डोल्पा नआउन आग्रह गरिएको प्रशासनको भनाइ छ । सडकमार्गबाट मात्रै नभई जहाजबाट डोल्पा आउने नागरिकलाई समेत सुरक्षाकर्मीको निगरानीमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर अनिवार्य होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ । गत असोज पहिले साता नै जिल्लामा सरोकारवालाहरुको उपस्थितिमा जिल्ला प्रवेशमा रोक लगाउने निर्णय सहित पटक–पटक सुचना प्रकाशन गरेपनि धमाधम पर्यटक भने आइरहेका छन् । नाकाबाट आफन्त छोड्नका लागि दबाव दिन सांसद, मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरुको समेत फोन आउने गरेता पनि प्रक्रिया नपुर्‍याई आउने सबैलाई फर्काउने गरिएको प्रजिअ सुनारले बताए । पछिल्लो समयमा नक्कली कोरोना परिक्षण रिपोर्ट ल्याएर डोल्पा पुगेका पाइएकाले ताजा रिपोर्ट माग्नुका साथै र स्वाब दिँदा दिइने रसिद हेर्ने र अस्पतालमा फोन समेत गर्ने गरिएको प्रशासनले जनाएको छ । जिल्लाका फोक्सुण्डो ताल,फोक्सुण्डो झरना,त्रिपुरासुन्दरी मन्दिर,उपल्लो डोल्पा लगायतका ठाउँको अवलोकनकालागि काठमाण्डौं लगायत देशका विभिन्न ठाउँबाट पर्यटकहरु डोल्पामा आउने गरेका छन् ।

 

Translate »