२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

समाजसेवामा लागेकी संग्रौलालाई दुःख दिन पक्राउ गरिएको भन्दै रिहाई गर्न उपाध्यायको माग



काठमाडौं । पूर्वसचिव भीम उपाध्यायले समाजसेवामा लागेकी ज्वाला संग्रौलालाई दुःख दिन पक्राउ गरिएको भन्दै उनलाई रिहा गर्न माग गरेका छन् । गरिब दुःखी जनताको साथमा रहने र उनीहरूको कष्ट निवारण गर्न संग्रौला समाज सेवामा खटिएको सबैले देखेको उपाध्यायले सामाजिक सञ्जालमा लेखेका छन् ।

काम गर्दा कतै भनाभन वा झड्प भएको भए धरौटी वा तारेखमा राखेर पनि अनुसन्धान गर्न सकिने उपाय हुँदाहुँदै उनलाई दुःख दिन प्रहरी प्रशासन लागेको भन्दै उपाध्यायले कसैको दबाबमा जसलाई पक्रिहाल्ने, थुन्ने र दुःख दिने नियत राखेर पुलिस फोर्सले कहिल्यै माया र जस पाउदैन् भनेका छन् ।

समाज सेवामा लाग्नेहरूको बिरूद्धमा अलोकप्रिय नेताहरू र तिनका पिछलग्गुहरू जाईलाग्ने गरेको तथ्य पुलिसले पनि राम्ररी बुझ्नुपर्छ भन्दै उनले नत्र जनताको सुरक्षामा खटिने प्रहरीप्रति जनताका समाज सेवकमाथिको गलत व्यवहारलाई जनताले नै गलत नजरले हेर्दै जाने बताएका छन् ।

उपाध्यायले भनेका छन्, ‘राज्यले कसैलाई थुन्नु बहादुरी हैन, अधिकारको दुरूपयोग हुन्छ। ननबेलेबलबाहेक सबै केसमा तारेखमा छाडेर कानुनी कार्यवाही गर्नु नै स्वच्छ पुलिस प्रशासनको कार्यशैली हुनुपर्छ। पुलिस शक्तिको दुरूपयोग हुनु भनेको शासन कबाडी भएको लक्षण भनेर बुझिन्छ।’

मुलुकमा पुलिस निरन्तर बद्नाम हुदै जानु पनि यस्तै अनपेक्षित पटक पटकका अविवेकी कार्यशैलीका कारण हुँदै आएको उनले बताएका छन् । उपाध्यायले लोकतन्त्रमा पुलिसको छबि सुधार्न झन् जरूरी रहेको भन्दै नवनियुक्त गृहमन्त्रीले विशेष ध्यान दिनुपर्ने बताएका छन् । (कर्पोरेट नेपाल)

प्रकाशित मिति : २०७८ असार ७ गते सोमबार
Translate »