२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

ओलीप्रति नेपालको व्यंग्य- महाराजधिराज खुसी भएछन्, हामीलाई आममाफी मिलेछ !



काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई राजाको संज्ञा दिएका छन् । अध्यक्ष ओलीले २२ सांसदलाई ‘आममाफी दिएको’ भनी गरेको घोषणाप्रति पनि नेता नेपालले आपत्ति जनाएका छन् ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरुलाई जति पनि स्पष्टीकरण गरिएको छ, त्यसलाई आममाफी दिइन्छ । एमनेस्टी इज ग्रान्टेड ! हामी गद्‌गद भयौं । महाराजधिराज कति खुसी भएछन्, हामीलाई आममाफी मिलेछ !’

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपाललगायत २२ सांसदलाई आममाफीको घोषणा गरेका थिए । त्यसअघि भने ओली पक्षले २२ सांसदलाई स्पष्टीरण सोधेको थियो । उक्त स्पष्टीकरण नआउँदै ओलीले आममाफी भएको बताएका थिए ।

उक्त अभिव्यक्तिप्रति नेता नेपालले व्यंग्य गर्दै भने, ‘नाच्नुपर्ने भयो, खुसी हुनुपर्ने भयो । यै हो प्रवृत्ति ? यसलाई कम्युनिस्ट प्रवृत्ति भनिन्छ ?’

ओलीले स्पष्टीकरण सोध्नु गल्ती थियो भन्नुपर्नेमा आममाफी दिएको भनेर नेता नेपालले विरोध जनाए । ‘स्पष्टीकरण सोध्नु गल्ती भयो । मैले त्यो हतार गरेँ । त्यो मैले फिर्ता लिएको छु भनिदिएको भए हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?,’ नेपालले सत्ताबाट बाहिरिएर पनि ओलीमा दम्भ जस्ताको तस्तै रहेको भन्दै कहावत सुनाए, ‘डोरी जल्यो, गाँठो जस्ताको तस्तै ।’

आफूलाई ओली सुध्रिएलान् लागेको तर त्यसको संकेत नमिलेको नेपालको भनाइ थियो । एकतामा असर गर्ला भनेर आफूले सम्हालिएर अभिव्यक्ति दिँदा पनि अर्को पक्षबाट त्यस्तै व्यवहार नभएको उनको भनाइ थियो ।(कान्तिपुर)

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रबार
Translate »