२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 21, 2026

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय

प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । संस्थाको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन ।

प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालले वैठकले दुर्गेशलाई संस्थागत बहिस्कार गर्ने लगायतका केही निर्णय गरेको जानकारी अनलाइनखबरलाई दिएका छन् ।
दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए ।

गीत ल्याउनुअघि नै दोहोरीगीत प्रतिष्ठानले ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनाएको थियो । प्रतिष्ठानले सो गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै दुर्गेशलाई पत्र नै काटेको थियो ।

तर, प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले गीत सार्वजनिक गरे । उक्त गीतले तीजको मर्ममाथी प्रहार गरेको प्रतिष्ठानले ठहर छ । गीतलाई लिएर सामाजिक सञ्जालदेखि महिला एवं महिलासँग सम्बन्धित संस्थाहरुले आपत्ति जनाएका छन् । आफूहरुको आग्रह अस्वीकार गर्दै गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले दुर्गेशलाई संस्थागत बहिस्कारको निर्णयमा पुगेको हो ।

‘हामीले उहाँलाई संस्थागत बहिस्कारको निर्णय गरेका छौं । प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्वन गर्ने, सेवा सुविधाबाट बन्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनैपनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला–महोत्सवमा नबोलाउने गरी प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई आग्रह गर्ने निर्णय गरेका छौ’ उप–महासचिव एवं विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक हमालले अनलाइनखबरसँग भने ।

दुर्गेशको गीतले आफूहरुको अपमान भएको भन्दै महिला समूहहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रहरीमा उजुरी दिने तयारी गरेको समेत बुझिएको हमालले बताए । आफूहरुको अनुरोधका कारण तीज गीतमा विकृति घट्दै गएको प्रतिष्ठानले जनाएको छ । तर, दुर्गेशले अटेर गरेर पैसा र चर्चाका लागि विकृत गीत ल्याएको प्रतिष्ठानको भनाई छ । (अनलाइनखबर)

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमबार
Translate »