खुले कोरोनाले बन्द हुम्लाका विद्यालय

सिमकोट – कोरोना कहरले बन्द रहेका हुम्लाका सबै गाउँपालिकाका विद्यालय सञ्चालनमा आएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमण कम भएको निष्कर्ष निकाल्दै विद्यालय सुचारु गर्ने निर्णय गरेसँगै विद्यालय सञ्चालनमा आएका हुन् ।

बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले विद्यालय सञ्चालनमा आएको पहिलो दिन ७० प्रतिशत विधार्थीको उपस्थिति रहेको जानकारी दिए। उक्त विद्यालयमा साढे चार सय विद्यार्थीहरु अध्ययनररत छन् ।

विद्यार्थीको अधिक उपस्थिति भएसँगै पठनपाठन सुरु गरिएको उनले बताए ।

सञ्चालनमा आएका विद्यालयहरुले शिक्षक र विद्यार्थी सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने मापदण्ड बनाएका छन् ।

सिमकोटकै मानसरोवर माविका प्रधानाध्यापक अमरबहादुर शाहीले पहिलो दिन ५० प्रतिशत विद्यार्थीहरुको उपस्थितिमा कक्षा सञ्चालन भएको बताए। उनले मास्क नलगाएका विद्यार्थीहरुलाई विद्यालयले व्यवस्था गरेर पढाइ सुरु गरिएको जानकारी दिए।

सिमकोट गाउँपालिकामा सामुदायिक २३ र निजी ५ गरी २८ वटा विद्यालय रहेका छन्। यी सबै विद्यालयहरुमा आइतबारबाट पठनपाठन सुरु भएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गाउँपालिका क्षेत्रमा रहेका सबै विद्यालयमा पठनपाठन सुरु भएको बताए। उनले लामो समयपछि पठनपाठन सुरु हुँदा विद्यार्थीहरु खुसीका साथ विद्यालयमा उपस्थित भएको सुनाए।

त्यस्तै चंखेली गाउँपालिकाले पनि विद्यालयमा पठनपाठन सुरु भएको जनाएको छ। उक्त गाउँपालिकामा २५ वटा विद्यालय रहेका छन्। उत्तरी नाम्खाका १७ वटा विद्यालयमा भदौ २० गतेबाट विद्यालय सञ्चालनमा आएका थिए। सो गाउँपालिकाको लिमीका दुई विद्यालयमा भने यसअघि नै पढाइ सुरु भएको थियो ।

अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले २१ वटा विद्यालय सञ्चालनमा आएको जानकारी दिए। त्यसैगरी ताजाकोट गाउँपालिकाका १७ वटा विद्यालयमा पनि साउन १५ गतेबाट पढाइ सुरु भएको थियो । सर्केगार्ड गाउँपालिकाले सबै विद्यालय सञ्चालनमा आएको जनाइएको छ।

हुम्लामा अहिले पठनपाठन गर्ने उपयुक्त समय हो । यहाँका विद्यालयमा १७ हजार विद्यार्थी अध्ययनरत छन् । पठनपाठन सुरु भए पनि शिक्षक र विद्यार्थीहरुले मास्क प्रयोग गर्नेबाहेक अन्य स्वास्थ्य मापदण्ड एवं सावधानी अपनाउन नसकिएको विद्यालयले जनाएका छन् ।(देश सञ्चार)

Translate »