कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले दिए राजीनामा

असोज ४, सुर्खेत ।  कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् । उनले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन् ।

पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यवहारिक समस्याका कारण कर्णाली प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिनुपरेको उनले बताएका छन् ।

उनले प्रदेश सरकार र योजना आयोगले आवश्यक ठानेमा आफू नीति र योजना निर्माणमा स्वयंसेवी रुपम सहयोग गर्ने उल्लेख गरेका छन् । तीन वर्षको अवधिमा कर्णालीको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, जलविद्युत, सडकलगायतका क्षेत्रको आधारभूत दस्ताबेज निर्माण गर्नुका साथै दिगो विकास लक्ष्यलाई सहयोग पुग्ने दूरगामी नीति तथा योजना निर्माण गरिएको उनको भनाइ छ ।

उनले कर्णाली आफ्नै भूमि भएकाले आगामी दिनमा पनि प्रदेशको विकास र समृद्धिका लागि आफ्नो स्तरबाट सक्दो सहयोग गरिरहने जिकिर गरे ।

Translate »