चेक क्लियरिङ हुने समय बढाएर दिउँसो ३ बजेसम्म

असोज ४, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले चेक क्लियरिङ गर्ने समय बढाएको छ ।

क्लियरिङ हाउसले डिजिटल भुक्तानी गर्ने क्रम अत्याधिक मात्रामा बढ्न थालेपछि विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पुर्‍याएको हो । अब अन्तरबैंक भुक्तानी प्रणाली एनसीएचएल आईपीएसमा ३ बजेसम्म कारोबार हुने भएको छ ।

नयाँ व्यवस्थाअनुसार आइतवारदेखि बिहीवारसम्म आईपीएस प्रणाली बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । यसअघि बिहान १० बजेदेखि दिउँसो १ बजे सम्ममात्र यो सेवा सञ्चालन हुने गरेको थियो । तीन घण्टा मात्र सञ्चालन हुँदै आएको उक्त सेवालाई दैनिक छ घण्टा पुर्‍याएको क्लियरिङ हाउसले बताएको छ ।

नयाँ व्यवस्था अनुसार अब एनसीएचएल आईपीएस प्रणालीमा बिहानको ९ बजेदेखि दिनको ३ बजेसम्म (आइतवारदेखि बिहीबारसम्म नेपाली रुपैयाँ र सोमवारदेखि बिहीवारसम्म वैदेशिक मुद्रा) प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा (टि प्लस जिरो) नै फर्छौट हुने छ ।

हाल उक्त प्रणालीमा ५९ ओटा बैंक तथा वित्तीय संस्थाहरु आबद्ध रहेका छन् । उक्त प्रणाली मार्फत प्रतिकारोबार २० करोड रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी ३० करोड रुपैयाँसम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी ५० करोड रुपैयाँसम्म र सरकारी भुक्तानी २ अर्ब सम्म गर्न सकिन्छ ।

Translate »