व्यावसायिक कृषिले आत्मनिर्भर बनेको कपुरकोट

दीपक शर्मा / सल्यान । कपुरकोट गाउँपालिकाका झन्डै ३ हजार ५ सय घरधुरीले बेमौसमी तरकारी खेती गर्दै आइरहेका छन् ।
सुख्खा डाँडाको केही हुँदैन भनेर कालापहाड (भारत) लाई रोजगारीको मुख्य स्रोत बनाएका कपुरकोटबासी पछिल्लो समय भने आफ्नै बारीमा सुन फलाइरहेका छन् ।
कपुरकोटका लाख आम्दानी नगरेको एक पनि घर नभएको कृषि उपज सङ्कलन केन्द्र कपुरकोटका सचिव तिलक शर्माले बताए। कपुरकोट गाउँपालिका भित्रबाट जेठदेखि भदौको अन्तिमसम्म ११ करोडको तरकारी निकासी भइसकेको उनको भनाई छ । बेमौसमी तरकारी खेती गर्दै आएका कपुरकोट गाउँपालिकाका खड्काबहादुर ओलीले अहिलेसम्म झन्डै ५ लाखको तरकारी बिक्री गरिसकेको अझै एक दुई लाखको तरकारी बिक्री हुने तयारीमा रहेको उनले बताए ।

कपुरकोट कै वीर बहादुर बुढाथोकीले पनि ताजा तरकारी बिक्रीबाट हालसम्म ४ लाख हात पारिसकेको बताए । जेठदेखि भदौको अन्तिमसम्मको आम्दानी रहेको उनको भनाई छ ।
स्थानीयको जीवनस्तर उकास्न कृषिमा आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिएको कपुरकोट गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले बताए ।
कपुरकोटमा २०५६ सालदेखि तरकारी खेती सुरु भए पनि २०५८ बाट भने व्यावसायिक तरकारी खेती हुँदै आइरहेको गाउँपालिका अध्यक्ष सेनको भनाई छ ।