शैक्षिक अनुसन्धानात्मक कार्यका लागि सम्झौता

सागर परियार / जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबीच शैक्षिक अनुसन्धानका लागि सम्झौता भएको छ ।

विश्व मुटु दिवसको अवसरमा बुधवार एक कार्यक्रमका बीच गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबीच शैक्षिक अनुसन्धानात्मक कार्यका लागि औपचारिक सम्झौता भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले गङ्गालाल अस्पताल कर्णाली प्रतिष्ठान बीच जनशक्तिको सुदृढीकरण, शैक्षिक अनुसन्धान र जनशक्तिको आदान प्रदान लगायतका विषयमा सम्झौता भएको बताए ।

सम्झौता अनुसार अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अध्ययन गर्ने विद्यार्थीहरूले गङ्गालाल अस्पतालमा मुटु रोगका उपचारबारे तालिम लिन पाउनेछन् । गङ्गालालका विद्यार्थीहरूले पनि कर्णाली प्रतिष्ठानबाट आवश्यक सहयोग परामर्श लिने पाउनेछन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई मुटु रोग सम्बन्धी अनुसन्धान तथा तालिमका लागि गङ्गालाल अस्पतालले सहयोग गर्ने प्रतिष्ठानका उपकुलपति रावलले बताए।

गङ्गालाल अस्पतालका डा.चन्द्रमणि अधिकारीका अनुसार यो सम्झौताले कर्णालीको स्वास्थ्य सुदृढीकरण तथा अध्ययन अनुसन्धानका लागि कोशेढुंगा हुने छ ।

सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत चिकित्सकलाई गङ्गालालमा दुई महिना सम्मको मुटु रोगको प्राथमिक उपचार तथा मुटु रोगका बारेमा तालिम प्रदान गरिने उनले बताए ।

“अनुसन्धानात्मक कार्यमा सहयोग गर्छौ ।” उनले भने , “यो सम्झौताले त्यहाँ पढ्ने मेडिकल विद्यार्थीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ ।”

सहकार्य र समन्वयका आधारमा गरिने कामले नतिजा सकारात्मक दिने भन्दै सम्झौताले सुगम र दुर्गमको स्वास्थ्य सेवा प्रभावकारी तथा अध्ययन अनुसन्धान पनि परिणाममुखी हुने बताइएको छ ।

Translate »