उच्च रक्तस्रावका कारण अछाममा सुत्केरीको मृत्यु

अछाम । उच्च रक्तस्रावका कारण अछाममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ कि ३० वर्षकी पूर्णकला बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

बिहीबार राति ८ बजे सुत्केरी बेथा लागेपछि रहफ स्वास्थ्य चौकी लगिएकी बिकको आज बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य चौकीका अनमी गीता लम्सालले जानकारी दिए ।

घरमा व्यथा लागेकी बिकलाई स्वास्थ्य चौकी लगिएकोमा रक्तस्रावका कारण बच्चा जन्माउन नसक्दा मृत्यु भएको स्वास्थ्य चौकी रहफले जनाएको छ । बिकको  यो पाँचौँ बच्चा भएको र यसअघि ३ छोरा र १ छोरी गरी ४ सन्तान रहेका तुर्माखाँद गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकेन्द्र बुढाले बताए ।

भौगोलिक विकटताका कारण समयमै सुविधा सम्पन्न अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए  ।

यसअघि यस्ता प्रकृतिका बिरामी महिलाहरूका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टर मार्फत उद्धार गरिँदै आएकोमा यो घटना आफूलाई समयमै जानकारी नभएकाले बिकलाई बचाउन नसकिएको मल्लले बताए ।

जिल्लाकै बिकट मानिएको तुर्माखाँद गाउँपालिकाका बस्तीहरूमा सहज यातायातको सुविधाको कमीका कारण पनि यस्ता प्रकारका घटनाहरू घट्ने गरेका पनि प्रमुख जिल्ला अधिकारी मल्लले बताए ।

मृतक सुत्केरी विकका श्रीमानको समेत २ महिना अघि मृत्यु भैसकेको स्वास्थ्य शाखा प्रमुख बुढाले जानकारी दिए । आमाबुवा नै बितेपछि बच्चाको बिचल्ली हुने उनको भनाइ छ । ‘बच्चा जन्माउन नसकी आमाको मृत्यु भयो, बुवाको पनि दुई महिना अघि मात्रै मृत्यु भयो, अब बच्चालाई समस्या पर्ने देखिन्छ’ बुढाको भनाइ छ ।

Translate »