भाइरल ज्वरोका बिरामी बढे

दीपक शर्मा/ सल्यान । मौसममा आएको परिवर्तनसँगै सल्यानमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

केही हप्तायता मौसमी भाइरल ज्वरोका बिरामी बढेको सल्यान जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल, स्वास्थ्य चौकीलगायत निजी अस्पतालहरूमा बिरामीको चाप बढ्दै जान थालेको छ ।

पहिलेभन्दा अहिले बिरामीको सङ्ख्या बढेको सल्यान जिल्ला अस्पताल सल्यानका डा.एन्जिला श्रेष्ठले जानकारी दिए। अहिले दैनिक २० देखि २५ जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी आउने गरेको उनले बताए।

मौसममा आएको परिवर्तनसँगै बालबालिकादेखि वयस्कसम्मका सबैमा भाइरल देखिएको उनले बताए ।  कोरोनाको शङ्का लागेका बिरामीलाई कोरोना चेकजाँच गराउने गरेको उनले जानकारी दिए ।

सल्यान जिल्ला अस्पतालमा शुक्रवार बाहेक दैनिक १ सय ५० देखि २०० सय बिरामी आउने गरेका छन् । ज्वरो आउने बित्तिकै आत्तिने भन्दा पनि बालबालिकालाई हेरचाह गर्न उनले सुझाव दिए ।

भाइरल ज्वरोबाट बच्न पानी उमालेर खान, समूहमा हिँडडुल नगर्ने, आराम गर्न, झोलिलो पदार्थ बढी खान डा. श्रेष्ठले सुझाव दिए ।

उनले  रुघाखोकी ज्वरो आएमा स्वास्थ्य संस्थामा ल्याउन र उपचारमा ध्यान दिन सार्वजनिक अपिल समेत गरेका छन् ।

सामान्य लक्षण लगत्तै उपचारका लागि ल्याउनुपर्ने र खानपान, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव रहेको छ ।

Translate »