जाजरकोटमा यात्रु सहायता कक्ष सञ्चालन

बद्री पन्त / जाजरकोट । चाडपर्व नजिकिँदै गरेपछि जाजरकोटमा चहलपहल सुरु भएको छ ।

जिल्लाका विभिन्न स्थानमा यात्रुहरूको सहजताको लागि यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।

विजयादशमी, दीपावली लगायतका चाडपर्वका समयमा यात्रुहरूलाई आवश्यक सहयोगका यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

बसपार्क, बजार क्षेत्रका टिकट, काउन्टरमा हुने भिडभाड, बढी भाडा लिने, यात्रुहरू ठगिने, कार्यलाई नियन्त्रण र नागरिकका पिरमर्का तत्काल सुनुवाइ गर्ने उद्देश्यका साथ जिल्लामा यात्रु सहायता कक्ष सञ्चालनले टेवा पुग्ने देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाको खलङ्गा शान्ति चौतारास्थित बसपार्क, सुर्खेत जाजरकोट सिमाना छेडाचौर, थलह, दल्ली, बारेकोटलगायत यातायात सञ्चालन भएका स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

सहायता कक्षमा प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी रहने गरी व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले सुरक्षासम्बन्धी चुनौती नआओस् र यात्रुहरूलाई गन्तव्यमा पुग्न सहायता कक्षले सहयोग गर्ने बताए ।

मानिसहरूको आवतजावत एवं सवारी साधनहरूको चाप बढ्दै जाने भएकोले यसबाट यात्रुहरूको समस्या समाधानका लागि सहयोग पुग्ने देखिएको छ ।

नागरिक वा यात्रुहरूलाई कुनै पनि समस्या परे अथवा गुनासोको लागि कार्यालय सम्पर्क नम्बर ०८९–४३००१२ र कार्यालय प्रमुखको मोबाइल नम्बरमा –९८४३१६५६९९ फोन गर्न सकिने जनाइएको छ ।

यातायात व्यवसायीहरूले व्यवसायी सेवाभन्दा यात्रुमैत्री सेवामा जोड दिनुपर्ने भेरी नगरपालिका ४ वडा अध्यक्ष खम्बजंग शाहले बताए ।

चाडपर्वका बेला अन्य समयको तुलनामा यात्रुको चाप बढी हुने, सुरक्षा चुनौती रहने र यात्रुहरू ठगिने तथा सडक दुर्घटना न्यूनीकरणका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको जाजरकोटका प्रहरी प्रमुख मधुकुमार थापाको भनाइ छ ।

जाजरकोटबाट सुर्खेत, नेपालगञ्ज, काठमाडौँसम्म दिवा तथा रात्रि सेवाका बस सञ्चालन हुने गरेका छन् । भने जिल्लासहित ग्रामीण र छोटो दूरीमा यातायात सेवा सञ्चालन हुने गरेको छ ।

 

Translate »