कर्णाली करिडोरको सडक सेनाले मर्मत गर्दै

असोज १८, हुम्ला । नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला खण्डको सडक मर्मत कार्य शुरुभएको छ । हस्तान्तरण गरेको तीन महिनासम्म मर्मत सम्भार गर्नुपर्ने नियमअनुसार सेनाले सडकको सो काम गर्दैआएको हो ।
नेपाली सेनाको बिकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले उक्त सडक खण्डमा बर्खाको कारण भत्केको, पहिराले अबरुद्ध भएको भागको मर्मत कार्य सेनाले गर्दैआएको बताए। कर्णाली करिडोरको कालिकोटको खुलालु, लैफुदेखि सलीसल्लासम्मको १२२ दशमलव चार किलो मिटर सडकको मर्मत कार्यमा सेना जुटेको उनले बताए ।

यो खण्डमा बर्खामा पहिरो जाँदा तथा ढुङ्गा खस्दा चार दर्जनभन्दा बढी स्थानमा भत्केको सडकको मर्मत गर्ने कार्य भइरहेको सेनाले जनाएको छ । नियमअनुसार सेनाले निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको तीन महिनापछिसम्म भत्केको सडकको मर्मत सेनाले नै गर्नुपर्ने भएकाकारण हाल उक्त खण्डमा काम भइरहेको जनाइएको छ ।
धेरै स्थानमा खसेको पहिरो पन्छाउने कार्य भइसकेको र अब बाँकी रहेको क्षेत्रमा मर्मतको काम जारी रहेको छ । वर्षाले कालिकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने सडकमध्ये हुम्ला खण्डमा बढी क्षेती पुगेको छ । सडक अबरुद्ध भएपछि केही समयका लागि यातायता सेवा समेत अबरुद्ध भएको थियो ।
त्यसैगरि सडकको विभिन्न ठाँउमा कल्भर्ट बनाउने कार्य पनि सेनाले गरिरहेको छ । बिग्रे भत्केको सडकको मर्मतका लागि भनेर नेपाली सेनाले सडक हस्तान्तरण पछि पनि क्याम्प नछोडेको कार्कीले बताए । आगामी कात्तिक महिनासम्म सडक अबरुद्ध वा भत्केमा सेनाले नै त्यसको मर्मतको जिम्मा लिनुपर्ने सहमति छ । गत असार ३१ गते आफुले निर्माण गरेको कर्णाली करिडोरको सडक हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । (गोरखापत्र अनलाइन)