सिम्ताका अधिकांस पसलमा मूल्यसूची छैन

स्काई न्यूज /असोज २०, सुर्खेत । पूर्वी सुर्खेतको सिम्ताका अधिकांस किराना तथा खाद्य पसलमा मूल्यसूची राखेको पाईएको छैन् । संयुक्त बजार अनुगमन टोलीले बुधबार सिम्ताको जामुने बजारमा गरेको अनुगमनमा अधिकांस पसलमा मूल्यसूची नराखेको पाईएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेको नेतृत्वमा आएको अनुगमन टोलीले तीन वटा पसल बाहेक बाँकी कुनैपनि पसलले मूल्यसूची नराखेको पाईएको छ ।

अनुगमनका क्रममा म्याद नाघेका तथा लेबल कैफियत भएका विभिन्न कम्पनीद्वारा उत्पादित करिब ३० हजार मूल्य बराबरको हल्का पेय पदार्थ, नरिवल लड्डु, बेसन, सुजी, दालमोट, कुरकुरे स्न्याक्स, केक, मशला, चिप्स, चिउरालगायत सामाग्री जफत गरि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।

उनले अनुगमन गरिएको सबै पसल अब पसललाई अबको एक हप्ता भित्र मूल्यसूची राख्न, लेबल हेरेर खरिद विक्री गर्न, खाद्य र अखाद्य वस्तु अलग—अलग राख्न निर्देशन दिएको बताए । उनका अनुसार म्याद नाघेका तथा लेबल कैफियत भएका वस्तु विक्री गर्ने पसललाई स्थानीय तहको अनुगमन समितिलाई निगरानी राख्न सुझाव दिईएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत लामिछाने, नायव सुब्बा, दुर्गाप्रसाद आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन प्रमुख थापा, ईलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी निरीक्षक नन्दराज जोशी, सिम्ता गाउँपालिकाका अनुगमन शाखा प्रमुख सूर्यबहादुर सिंह, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

यता सिम्ता गाउँपालिकाका प्रशासकीय अधिकृत टोपबहादुर रानाले पटक—पटकको अनुगमनबाट पहिलो भन्दा बजार सुधारोन्मुख रहेपनि अझै उपभोक्ता सचेतना जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको बताए । उनले गाउँपालिका स्तरीय चाडपर्व लक्षित बजार अनुगमनलाई समेत तीव्रता दिईने जनाए । उनका अनुसार गाउँपालिका उपभोक्ताको अधिकारप्रति जिम्मेवार रहेकाले सचेतनासँगै बजार अनुगमनलाई निरन्तरता दिईनेछ ।

Translate »