प्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालयहरु भने टुंगो लागेको छैन । यद्यपि भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको महराले जानकारी दिए ।
माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेकी थिइन् ।
माओवादी मन्त्रीहरुलाई चिन्नुस्
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पहिलो पटक मन्त्री बन्न लागेका हुन् । माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा १० वर्ष भूमिगत भएका पौडेल २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए । भट्टराईले माओवादी छाडेर नयाँ शक्ति बनाउँदा उनी पनि गए । तर भदौ २०७४ मा माओवादी केन्द्रमै फर्किए । २०७४ मंसिरको आम निर्वाचनमा बागलुङ २ बाट उम्मेदवार बनेका उनी वाम गठबन्धनको समर्थनमा निर्वाचित भए ।
पछिल्लो पटक गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने क्रममा उनले संक्रियतापूर्वक भूमिका खेलेको नेताहरु बताउँछन् । अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेका पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
माओवादीबाट मन्त्री बन्न लागेकी शशी श्रेष्ठसँग २०६४ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएर काम गरेको अनुभव छ । हाल उनी संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पनि हुन् ।
२०३४ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिक जीवन शुरु गरेकी श्रेष्ठ छोरा र छोरीलाई पैत्रिक सम्पत्तिमा समान हक स्थापनाको आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा स्थापित भएकी थिइन् ।
माओवादीले मन्त्री बनाउन लागेका महेश्वर गहतराज पनि सशस्त्र विद्रोहबाट आएका नेता हुन् । १ फागुन २०५२ मा सशस्त्र विद्रोह थालेको दिन माओवादीले चार स्थानमा चौकी आक्रमण गरेको थियो, जसमध्ये रुकुमको राडीज्युला प्रहरी चौकीमा गरेको आक्रमणको नेतृत्व गहतराजले गरेका थिए । २०७० को संविधानसभा निर्वाचनमा बाँके १ बाट पराजित उनी २०७४ मा त्यही क्षेत्रबाट विजयी भएका थिए । सांसद भएको पहिलो पटक नै उनले मन्त्री बन्ने अवसर पाएका छन् ।
माओवादीले राज्यमन्त्री बनाउन लागेकी बोधमाया यादव शहीद रामवृक्ष यादवकी छोरी हुन् । माओवादीले सशस्त्र विद्रोहको तयारी गरिरहेका बेला रामवृक्ष यादव (मास्टर साहब) को २ भदौ २०५१ मा हत्या भएको थियो । धनुषाकी उनी पनि सांसद भएको पहिलो पटकमै राज्यमन्त्री बन्ने भएकी हुन् । (अनलाइन खबर)