जहाँ इच्छा त्यहाँ उपाय ! सिरिञ्जको मद्दतले झिकियो कानभित्रको सिमी

असोज २४ , काठमाडौं । डोल्पामा एक बालकको कानभित्र अड्किएको सिमी सिरिञ्जको प्रयोग गरेर निकालिएको छ । कानभित्र अड्किएको वस्तु झिक्न प्रयोग गरिने उपकरण नभएपछि सिरिञ्जलाई बंग्याएर अंकुशे बनाई सिमी निकालिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अखण्ड उपाध्याय, डा. राज धुरेल र पारामेडिक्स कर्ण बिकले सिरिञ्ज बंग्याएर बनाइएको अंकुशेको सहायताले ११ वर्षका बालकको कानबाट सिमीको गेडा झिकेका हुन् । बालक खेल्ने क्रममा कानमा सिमी अड्किएपछि अभिभावकले अस्पताल ल्याएका थिए ।

अस्पतालमा कानमा अड्किएको वस्तु झिक्न प्रयोग गरिने उपकरण जबसन हर्न प्रोब र क्रोकोडाइल फोरसेप नभएपछि सिरिञ्जकै मद्दतले निकालिएको डा. उपाध्यायले बताए । ‘हामीसँग जबसन हर्न प्रोब छैन, क्रोकोडाइल फोरसेप छ तर पुरानो भएर राम्रोसँग काम गर्दैन, त्यसैले सिरिञ्जको सहायताले निकालेका हौं’ उनले भने ।

बालकको कानबाट सिमी निकाल्न उनीहरुलाई आधा घण्टा समय लागेको थियो । तिखो सिरिञ्जलाई बंग्याएर कानभित्र छिराउनु जोखिमयुक्त भए पनि अरु विकल्प नभएपछि सावधानीपूर्वक प्रयोग गरेको डा. उपाध्यायले बताए । (अनलाइन खबर)

Translate »