अछाममा जन्ती बोकेर फर्किएको जिप दुर्घटना : ४ को मृत्यु, १४ घाइते
काठमाडौँ — अछाममा जन्ती बोकेर फर्किएको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
आइतबार राति साढे ११ बजे पञ्जदेवल विनायक नगरपालिका वडा नम्बर १ मा विवाहको कार्यक्रमबाट घर फर्कने क्रममा से १ च १७६३ नम्बरको गाडी दुर्घटना भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।
दुर्घटनामा परी पञ्चदेवल विनयाक-२ का अन्दाजी १३ वर्षीय जीवन न्यौपाने, अन्दाजी १५ वर्षीय हिमाल नेपाली, अन्दाजी १८ वर्षीय सर्प बोहोरा र पञ्चदेवल विनयाक-३ का अन्दाजी १६ वर्षीय जीवन जैसीको मृत्यु भएको अछाम प्रहरीका प्रमुख तुल्सीराम अर्यालले जानकारी दिए । जीप चालक चुपे कुमार प्रहरी नियन्त्रणमा आएको अर्यालले बताए ।
गाडीमा सवार १८ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का १ जनाको उपचारको क्रममा मंगलसेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्थमा गम्भीर भएकाले आइतबार नै नेपालगन्ज रिफर गरिएको थियो । अन्यको जिल्लाका अस्पतालमाहरूमा उपचार भइरहेको छ ।
जीप ब्याक गर्ने क्रममा सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।