माओवादी र काँग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गर्नेको घुँईचो
राजु केसी /असोज २६, सुर्खेत । भनिन्छ नि ! कथाले मागेपछि….आकाशपनि धर्तीसँग ठोकिन्छ । पछिल्लो समय कर्णाली प्रदेश आसपासका जिल्लामा यस्तै अवस्था देखिएको छ । देशमा जनअपेक्षा अनुरुप सरकारी कामकार्वाही हुन नसक्दा राजनीतिक दलका नेता, कार्यकर्ता मात्र होइन, आम नागरिक आजित भएका छन् । केही नागरिकलाई त लोकतान्त्रिक व्यवस्थाप्रति नै वितृष्णा बढाउँदै छ ।
अहिले नेपाली काँग्रेस र माओवादी विचारधारा बोकेका आम नागरिक मात्र होइन, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी एमालेको गतिविधिबाट प्रभावित भएका छन् । एमालेको समानुपातिक, समावेशी र समृद्धिको यात्राबाट विभिन्न राजनीतिक दलका नेता, कार्यकर्तासँगै आम नागरिक प्रभावित भएका हुन् ।
विभिन्न राजनीतिक पार्टी छोडेर एमाले पार्टीमा प्रवेशका लागि अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हानथाप शुरु भएको छ । नेपालमा नाम चलेका विभिन्न पार्टीका नेता, कार्यकर्ताहरु आफ्नै पार्टीलाई सदाका लागि परित्याग गरि धमाधम एमाले पार्टीमा प्रवेश गर्न थालेपछि हैसियतका लागि हानथाप शुरु भएको हो ।
यता नेकपा एमाले सुर्खेतले जनता र पार्टीका लागि मरिहत्ते गर्ने सबै नेता तथा कार्यकर्तालाई विश्वव्यापी मान्यता अनुरुप उचित सम्मानसहित स्वर्णिम अवसर प्रदान गरिने जिकिर गरेको छ । यसैवीच नेकपा माओवादी केन्द्र सुर्खेतका जिल्ला कमिटी सदस्य मोहन सुनार र माओवादी केन्द्रवाट उपत्यका खानेपानी संस्थाको स्किम नं ७ का निर्वाचित सचिव चन्द्रपसाद न्यौपाने, हरिकला चपाई, पवित्रा चपाई, अम्विका आचार्य, भवानी पौडेलसँगै नेपाली कांग्रेसका क्रियाशील सदस्य लक्ष्मीप्रसाद लामीछाने र लक्ष्मीप्रसाद सापकोटा लगायतले एमाले पार्टी प्रवेश गरेका छन् ।
नेकपा एमाले वीरेन्द्रनगर नगरपालिका–२, कमिटीले मंगलबार आयोजना गरेको चियापान कार्यक्रममा उनीहरुसहित ठूलो जमात एमाले प्रवेश गरेको हो । उनीहरुलाई नेकपा एमाले अनुशासन आयोगका सदस्य बालाराम शर्माले पार्टी सदस्यता प्रदान गरेर एमाले भित्र्याएका हुन् ।
नव प्रवेशी सुनारले माओवादी पार्टीले सुकुम्बासी र गरिव जनताको एजेण्डा छोडेर कम्युनिस्टहरुले मान्दै आएको वर्ग शत्रु कांग्रेसका पछि लागेकोले आफु एमाले प्रवेश गरेको बताए । उनले सुकुम्बासीलाई गोली ठोक्ने सरकार र त्यसका मतियार पार्टीलाई माओवादी भित्रका धेरै ईमानदार साथीहरुले छोड्दै गएको जानकारी दिए ।