जाजरकोटमा यो वर्ष १६५ किलोमिटर सडक निर्माण

कार्तिक १, जाजरकोट । भौतिक पूर्वाधार विकास कार्यालयले जाजरकोटमा १६५ किलोमिटर सडक निर्माण गरेको छ ।

जिल्लाका रणनीतिक सडक निर्माणलाई  जारी राखेको पूर्वाधार कार्यालयले यस आर्थिक वर्षमा पनि निरन्तरता दिनेछ ।

कच्ची कडान गरी हलुका साधन सञ्चालनसमेत भइरहेका पूर्वाधार कार्यालयका प्रमुख प्रविण कार्कीले जानकारी दिए ।

उनका अनुसार कचाली–गुराँसे–धरमपोखरा सडक निर्माण कार्य जारी छ । पश्चिम जाजरकोटको महत्वपूर्ण सडकका रूपमा रहेको छिन्चु–जाजरकोट सडक खण्डसँग जोडिएको मोर्क–स्यापी–सिस्ने–नेपा हुँदै कचाली जोड्ने सडकको कामसमेत जारी छ ।

आन्तरिक सडकमध्ये लिर्ता–कार्कीगाउँ–मछाइना सडकको निर्माण चलिरहेको प्रमुख कार्कीले बताए ।

त्यस्तै, आन्तरिक सडकमध्येकै साइलेख साँघु–रावतगाउँ–ध्यारगाउँ सडकसमेत निर्माणको चरणमै रहेको उनको भनाइ छ ।

जिल्लाको रणनीतिक सडकमध्येको  जुम्लासँग जोड्न निर्माण थालिएको पाँचकाटिया–फुल्चाउली–कयाल्दापाखा–बारेकोट–चाखुरे–जुम्ला सडकको निर्माण कार्य जारी छ । कच्ची कटान भएका सडकमा अहिले हलुका सवारी साधनसमेत सञ्चालनमा छन् ।

त्यस्तै, जुम्ला जोड्ने अर्को सडक जाजरकोट–कुशे–चाल्ना–व्याउली–जुम्ला सडकको समेत काम चालू अवस्थामा छ । पर्यटकीय स्थल पाँचकाटिया हँुदै पिउली–नेटीलेक सडकको कच्ची कटान भइरहेको छ ।

प्रदेशले जिम्मा लिएका सडकमा काम  भइरहेको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए ।

‘जिल्लाका पर्यटकीय तथा धार्मिक स्थल हुँदै सबै गाउँमा बिनाअवरोध सडक लिने हाम्रो योजना हो’, प्रदेशसभा सदस्य सिंहले भने, ‘यो काम यस वर्षसमेत जारी रहन्छ । गाउँ तथा बस्तीमा सडक नलिई अन्यत्रबाट मोड्दा गाउँका कृषकले दुःख पाउनेछन् । हामीले उत्पादन गरेका सामग्रीलाई बजारसम्म लैजान पनि गाउँमा सडक पुर्‍याउनुपर्ने बाध्यता छ ।’

त्यस्तै, स्थानीय तहलेसमेत सडक निर्माणलाई महत्व दिँदै आएका छन् । यद्यपि सबै पालिकामा निर्माण भएका सडकको यकिन तथ्यांक नलगाड नगरपालिकाबाहेक अन्य स्थानीय तहले  दिन सकेका छैनन् ।

नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ मा सडक सफा तथा मर्मत ६७ किलोमिटर र सडकको नयाँ ट्रयाक खुला २६ किलोमिटर रहेको सब–इञ्जिनियर जनक खड्काले बताए । रासस

Translate »