पानी पार्ने प्रणाली बाहिरियो, मौसममा सुधार

कात्तिक ४, काठमाडौं । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ ।

बिहीवार बिहानै काठमाडौं उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ ।

वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/ पाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो । हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बाग्मती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
बिहीवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

उक्त प्रणाली गएको असोज ३१ बाट विकसित भएको थियो । कात्तिक १ र २ गते नेपालको पश्चिम (कर्णाली र सुदूरपश्चिम) क्षेत्रमा भारी वर्षा गराएको थियो भने कात्तिक २ को रातिबाट बुधवार साँझसम्मै त्यसभन्दा पूर्व क्षेत्र प्रदेश १, २ बाग्मती, गण्डकी प्रदेशमा बर्षा गराएको थियो ।

बेमौसम (कात्तिक) मा परेको भारी वर्षाले मुलुकका विभिन्न २० भन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति गराएको छ । भौतिक संरचना तहसनहस पारेको छ भने भित्रिने बेलाको धानबालीसमेतमा निकै क्षति पुर्‍याएको छ । रासस

Translate »