सल्यानमा २८ प्रतिशत धानबालीमा क्षति

सल्यान (अस) । लगातारको वर्षाका कारण सल्यानमा झन्डै २८ प्रतिशत धानबालीमा क्षति पुगेको छ । आइतबारदेखि परको अविरल वर्षाका कारण जिल्लामा २७ दशमलव ८५ प्रतिशत धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको हो ।

वर्षाले धानबालीमा पु¥याएको क्षतिको अनुमानित विवरण सार्वजनिक गर्दै कार्यालयले जिल्लाभर ४४ दशमलव ५० प्रतिशत धान भित्र्याउन बाँकी रहेको बताएको छ । हालसम्म जिल्लाभर २८ दशमलव ६५ प्रतिशत मात्रै धान भित्र्याइएको तथ्यांकमा उल्लेख छ । जिल्लाभर ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जिल्लाभर ३० हजार ५६ मेट्रिक टन धान उत्पादन हुने आकलन थियो । तर, वर्षाका कारण ८ हजार ३ सय ७० मेट्रिक टन धान भिजेर क्षति भएको कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए । उनका अनुसार ८ हजार ६ सय १० मेट्रिक टन धान किसानले भित्र्याइसकेका छन् भने १३ हजार ३ सय ७४ मेट्रिक टन काट्न बाँकी रहेको छ । सबैभन्दा धेरै सिद्धकुमाख गाउँपालिका र कम कपुरकोट गाउँपालिकामा वर्षाका कारण धानबालीमा नोक्सानी भएको उनले बताए ।

सबैभन्दा धेरै दार्मा गाउँपालिकामा धान भित्र्याइएको छ भने कम बनगाड कुपिण्डे नगरपालिका र कपुरकोटमा रहेको छ । यस्तै, सबैभन्दा बढी छत्रेश्वरी गाउँपालिकामा धान काट्न बाँकी रहेको छ भने सबैभन्दा कम कालीमाटी गाउँपालिकामा रहेको छ । गत वर्ष जिल्लामा २९ हजार ७ सय १९ मेट्रिक टन धान उत्पादन भएको थियो भने १६ मेट्रिक टन घैया धान उत्पादन भएको थियो ।

जिल्लाका किसानले बढी मात्रामा रामधान, सुक्खा ३, सुक्खा १, कञ्चनलगायत जातको धान खेती गर्दै आएका छन् । कार्यालय प्रमुख आचार्यले धान भित्र्याउने समय परेको वर्षाका कारण जिल्लामा यो वर्ष धान उत्पादन घट्ने बताए । निरन्तरको वर्षाका कारण किसानले काटेको धान कुहिने र उत्पादन घट्ने अवस्था रहेको उनको भनाइ छ । पाकेको धान भित्र्याउने बेला वर्षा भएपछि जिल्लाका किसान चिन्तित भएका छन् । घर भित्र्याउन काटेर तयार पारेको धानमा वर्षाले क्षति पु¥याएको शारदा नगरपालिका–९ का स्थानीय मोहन बुढाथोकीले बताए । वर्षाले पाकेका धानको बोटसमेत ढलेका छन् ।

‘खेतैभरि पानी भरिएको छ । काटेर झाँट्न तयार भएको धान पानीमा तैरिएको छ ।  धानको बोट लडेर सोत्तर भए,’ उनले भने ‘एक–दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने भन्ने पिरलो थपिएको छ ।’ गरिज्युला, कालीमाटी फाँट, बनगाड, मर्मलगायत जिल्लाका अधिकांश ठाउँमा लगाएको धानबालीमा क्षति पुगेको छ ।

Translate »