विकास र समृद्धिका लागि एमाले : नेता कँडेल

चौकुनेका सबै वडामा सर्वसम्मत नेतृत्व चयन

स्काई न्यूज /कार्तिक ११, सुर्खेत ।  नेकपा एमाले कर्णाली प्रदेश सह–सयोजक तथा कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले देशको विकास र समृद्धिका लागि एमालेले काम गरिरहेको बताएका छन् । बुधबार पश्चिम सुर्खेतको गुटुमा नेकपा एमाले चौकुने गाउँपालिकाका अगुवा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा उनले देश र जनताको लागि सक्रिय जीवन बिताउने थलोको रुपमा एमाले पार्टी भएको बताए । ‘एमालेको नीति, कार्यक्रम तथा उद्देश्यप्रति दिनप्रतिदिन जनलहर बढेको बढेकै छ,’ उनले भने, ‘सरकारबाट एमाले बाहिरिए पनि जनता एमालेमा पसेको छ ।’ उनले एमाले सरकारमा नहुँदा पनि एमाले प्रति जनताको मोह नघटेको जिकिर गरे । एमाले सरकारमा नहुनुको प्रभाव विकास, समृद्धि र राष्ट्रियतामा परेको उनको भनाइ थियो ।

‘नेकपा एमाले नियम, पद्धती र सिद्धान्तमा चल्ने पार्टी भएकाले जनताप्रति जवाफदेही छ’, उनले भने, ‘एमालेले तपार्ईहरुलाई दुरुपयोग गर्दैन, तपाईको पसिना सही ठाउँमा प्रयोग हुन्छ ।’ उनले देशैभरी यति बेला वडादेखि स्थानीय तहहरुमा अधिवेशन चलिरहेकाले समावेशी प्रतिनिधित्व हुने गरि एमाले अघि बढेको स्पष्ट पारे । एकताका साथ सम्पन्न भएको विधान महाधिवेशनबाट नीति र विधि निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जनाउँदै अब झनै सक्रिय भएर पार्टीलाई अनुशासित बनाउनतर्फ लाग्न उनले सुझाव दिए । ‘अब जनताको विश्वास जितेर अनुशाासित ढङ्गले काम गर्दै अगाडि बढ्नु छ’ उनले भने, पार्टीमा स्वेच्छाचारी चल्ने छैन ।

सबै नेता र कार्यकर्ता सम्मानित र स्वाभिमानी बनेर काम गर्ने वातावरण तयार गरी समावेशी पार्टी बनाउँनु पर्छ ।’ उनले विगतको एमाले नेतृत्वको सरकारले राष्ट्रको स्वाभिमान उचो बनाउनुका साथै मुलुकको दिगो विकासका लागि काम गरेको समेत दाबी गरे । ‘एमालेमा आउनेहरु सत्यको बाटोमा हिँड्न पाउने छन,’ उनले भने, ‘सबैलाई समावेश गर्ने नाममा गलत कुरालाई भने बोकेर हिडिने छैन् ।’ अब गाउँ कमिटीमा आउने नयाँ नेतृत्वले विकासमा भएका ढिलासुस्ती विरुद्ध खबरदारी गर्न आवश्यक रहेको बताउँदै उनले हरेक किसिमका बेथिति र विसङ्गतीविरुद्ध लाग्न आग्रह गरे । देशमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेपनि स्थानीय निकायको चुनाबको तयारीमा जुट्न समेत कार्यकर्तालाई उनले सुझाव दिए । यता भेटघाट कार्यक्रममा कार्यकर्ताले भने पश्चिम सुर्खेतका जनताले भोग्नु परेका सडक, विद्युत र सञ्चारका समस्याप्रति नेता कँडेलको ध्याकर्षण गराएका थिए ।

यसैवीच एमालेले चौकुने गाउँपालिकाका सबै वडाहरुमा वडा भेला सम्पन्न गरेको छ । वडा भेलामा नेता तथा कार्यकर्ताहरुको उत्साह जनक सहभगिता रहेको एमाले चौकुने गाउँ कमिटीका अध्यक्ष हरिप्रसाद अधिकारीले बताए । उनले चौकुने गाउँपालिका भित्रका विभिन्न वडाका माओबादी र नेपाली काँग्रेस पार्टी परित्याग गरि एमालेमा प्रबेश गर्ने क्रम जारी रहेको जनाए । उनका अनुसार चौकुने गाउँपालिकामा एमालेका एक हजार दुई सय सक्रिय सदस्य रहेका छन् ।

उनले चौकुने गाउँपालिकाका वडाहरुमा सहमतिमै नेतृत्व चयन भएको जनाए । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव चयन गरेको छ । ९० प्रतिशत सदस्य निर्वाचित भएको र बाँकी १० प्रतिशत त्यही कमिटीले मनोनित गर्ने व्यवस्था छ । प्रथम वडा अधिबेशनबाट १ नम्वर वडामा दिनेश थापा नेतृत्वको वडा कमिटी निर्वाचित भएको छ भने २ नम्वर वडामा दिनेश कठायतको अध्यक्षतामा, ३ नम्वरमा गणेश रानाको, ४ नम्वरमा तुलाराम मर्साङीको र ५ नम्वर वडामा तुलाराम हिस्कीको अध्यक्षतामा नयाँ वडा कमिटी निर्वाचित भएको हो । त्यस्तै ६ नम्वर वडामा हरिकला बिसीको, ७ नम्वरमा काशीराम देवकोटाको, ८ नम्वरमा पर्शुराम बास्तोलाको, ९ नम्वरमा कलम शाहीको र १० नम्वर वडामा भ्वान सिङ बिकको अध्यक्षतामा नयाँ वडा कार्यसमिति निर्वाचित भएका छन् ।

 

Translate »