अफगानिस्तानबाट थप ३२ जना नेपालीको उद्धार
कात्तिक १३,काठमाडौँ । सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ । शनिबार बिहान अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकहरुलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराएका हुन् ।
योसँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहसचिव घिमिरेले उद्धारको पर्खाइमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अब नरहेको बताए । उनले भने, ‘आज ३२ जना नेपाली आउनु भएको छ । यसपछि अब चाँही उद्धारको पर्खाइमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ । त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टममा रहेका छन् । आज नेपाल एयरलाइन्सको दुबई फ्लाइटबाट २९ जना नेपालीहरु आएको र यसअघि आजै बिहान अन्य ३ जना गरी ३२ जना नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गरिएको हो ।’
मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यसअघि नै उद्धार गरिएको थियो । (ई–कान्तिपुर)