२०८३ भदौ २९ , सोमबार
Sky News Nepal
September 14, 2026

कोरोना भाइरसविरुद्ध फाइजरको खाने चक्की : ८९ % प्रभावकारी



कात्तिक १९, वासिङ्टन । अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्ध फाइजरको खाने चक्की ८९ प्रतिशत प्रभावकारी भएको बताएको छ ।

कोरोनाका संक्रमितका लागि आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा ८९ प्रतिशत प्रभावकारी देखिएको पनि उसले उल्लेख गरेको छ।

उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका लक्षण देखिनासाथ यो चक्कीको सेवन गर्नुपर्ने बताइएको छ। पाँच दिनसम्म दिनहुँ तीन ओटा चक्की सेवन गर्नुपर्ने हुन्छ।

फाइजरले उक्त चक्कीको आपत्‌कालीन प्रयोगका लागि अनुमति दिन अमेरिकी नियामक निकायमा निवेदनसमेत दिइसकेको छ। प्रतिद्वन्द्वी कम्पनी मर्कले पनि आफूले विकास गरेको मोल्न्यूपिरभीर चक्कीलाई प्रयोग अनुमति दिन निवेदन दिएको छ।

क्लिनिकल परीक्षण गर्दा मोल्न्यूपिरभीर चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको  देखिएको छ।

उता कोभिडविरुद्ध पहिलो खाने औषधिलाई  बेलायतले भने अनुमति दिइसकेको छ । परीक्षणमा रहेको खाने चक्कीले संक्रमित अस्पताल भर्ना हुने दरको जोखिम आधा घटाउने बताइएको छ । अस्पताल र चिकित्सकहरूमाथि बोझ घटाउने गरी कोभिड बिरामीले घरमै सेवन गर्न सक्ने चक्कीको विकास गर्न औषधि उत्पादकहरू लागिपरेका छन्।

कोभिड देखिनासाथ जतिसक्दो चाँडो जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक मोल्न्यूपिरभीर चक्की दिइनेछ। मोल्न्यूपिरभीर अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो खाने चक्की हो जसलाई सुईको रूपमा नभइकन खान सकिने छ ।बीबीसी

प्रकाशित मिति : २०७८ कात्तिक १९ गते शुक्रबार
Translate »