जाजरकोटको प्यारघाँरा, फुलचाँउली गाउँमा खानेपानी संकट


बद्री पन्त  / जाजरकोट ।
जाजरकोटको नलगाड नगरपालिका ४, प्यारघाँराकी लालकुमारी सार्कीलाई पिउने पानीको जोहो गर्नु प्रमुख समस्या बनेको छ । सोही ठाउँकी सुशिला सार्कीलाई पनि उस्तै समस्या छ । उनीहरू मात्र हैन, बस्ती आसपास खानेपानीको श्रोत नहुँदा प्यारघाँरा र फुलचाँउलीका ५० दलित तथा अन्य घरपरिवार पिउने पानीका लागि २ घण्टाको दुरीमा रहेको छिपछिपे मुहानको भर पर्न बाध्य छन् ।

घरमा अन्य समस्या भन्दा पनि पानी कहाँबाट ल्याउने भन्ने चिन्ताले बढी सताउने गरेको लालकुमारीको गुनासो छ । नलगाड नगरपालिका ४ प्यारघाँरा र फुलचाँउलीको गाउँमा खानेपानीको समस्या रहेको छ । घर परिवार र तीनका पशु बस्तुले एउटै कुवाको दूषित पानी पिउँदै आएका छन् । गाउँदेखि तल २ घण्टा टाढाबाट पानी ल्याउनु पर्ने यहाँका बासिन्दाको दैनिकी नै बनेको छ । २०२८ सालदेखि यहाँका बासिन्दाले पानीको समस्या भोग्दै आएको स्थानीय भक्तबहादुर सार्कीले बताए ।

‘निर्वाचन ताका पानीको योजना ल्याइदिन्छौ भन्छन् । तर जितेर गएपछि नेताले बिर्सन्छन्’, सार्कीले भने । सम्बन्धित निकायसँग पटक पटक खानेपानीको योजना माग गर्दा पनि कतैबाट सुनुवाइ नभएको स्थानीय महेन्द्रबहादुर रावलले बताए । बर्सातको समयमा आकाशे पानी सङ्कलन गरेर पानी पिउने त्यहाँका बासिन्दाको दैनिकी नै हो । खानेपानी अभावमा दैनिक सरसफाइ लगायत कार्य गर्न समस्या छ । पानीको अभावमा गाउँका चर्पी प्रयोग विहीन छन् । स्थानीय खोला खोल्सामा, जंगल खुला स्थानमा दिशापिसाव गर्ने गरेका छन् । सम्बन्धित निकायले तत्काल खानेपानीको व्यवस्था गर्नुपर्ने आवश्यक देखिन्छ ।

Translate »