सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो

स्काई न्यूज /मंसिर ४, सुर्खेत । सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । आठसय रुपैयाँ प्रति किलोग्राममा किनबेच हुँदै गरेको खसीबोकाको मासु अब बढेर ९ सय रुपैयाँ पुगेको सुर्खेत मासु व्यवसाय संघले बताएको छ । जिल्लाबाट बुटवल, भैरहवा, पोखरा, काठमाडौं जस्ता ठूला शहरमा खसी, बोका निर्वाधरुपमा बाहिरिन थालेपछि मासुको मूल्य बढेको हो । सिधै किसानबाट बढीमूल्य दिएर बाहिरी जिल्लाका व्यापारीले खसीबोका खरीद गरेपछि मूल्य बढाउनु परेको संघका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले बताए । उनले मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रतिकिलो ९ सय रुपैयाँमा बिक्री वितरण हुने जनाए ।

‘सुर्खेतमा उपभोक्ता मूल्य प्रतिकिलो ८ सय रुपैयाँमा मासु विक्री हुँदै आएकोमा आइतबारदेखि लागु हुने गरि किलोमा १ सय रुपैयाँ बढाएर मूल्य समायोजन गरिएको छ,’ उनले भने, ‘गत वर्ष प्रतिकिलो चार सयदेखि ४ सय ५० रुपैयाँमा खरीदबिक्री भएको जिउँदो खसी अहिले बढेर ४ सय ५० देखि ५ सय ५० रुपैयाँ प्रतिकिलो खरीद गर्नुपर्दा मूल्य बढाउन बाध्य हुनु परेको हो ।’ संघका पूर्व अध्यक्ष जनक थापाले जिल्लाका सबै सरोकारवाला तथा उपभोक्तालाई पूर्व जानकारी गराएर खसीको मासुको मूल्य वृद्धि गरिएको बताए । उनले खसीबोका पाउन छाडेपछि मासुमा प्रतिकिलो एक सय रुपैयाँ मात्र वृद्धि गरिएको जनाए ।

Translate »