पूर्व प्रवासी नेपाली नेता बास्कोटाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

स्काई न्यूज / मंसिर ५, सुर्खेत । भारत प्रवासमा नेपाली नागरिकको हक, हित र अधिकारका लागि लामो समय काम गरेका युवा नेता युवराज बास्कोटाले नेकपा एमालेको  १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । अघिल्लो महाधिवेशनमा झिनो मतान्तरले पछि परेका बास्कोटा  यसपटक पनि श्रमजीवि नागरिको हक, हित र अधिकार सुनिश्चितताका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निधो गरेका हुन् । लामो समयसम्म भारत प्रवास क्षेत्रको पार्टी कामको प्रतिनिधित्व गर्दै आएका बास्कोटा यसअघि पनि पार्टी अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवार थिए ।

विगत ८ वर्षयता देशभित्रको पार्टी काममा निरन्तर जोडिएका बास्कोटा अध्यक्ष ओलीको राजनीतिक–बैचारिक लिगेसीमाथि उभिएर दर्विलो तर्क राख्दै आएका छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाविशेनमा उनले खुल्ला अथवा भूगोल कुनै पनि एउटा क्षेत्रबाट केन्द्रीय सदस्यमा लड्ने स्काई न्यूजलाई बताए । ‘नेपाली कम्युनिष्ट आन्दोलनले प्रयोग र विकास गरेको नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त– जनताको बहुदलीय जनवादले पहलकदमी र प्रतिस्पर्धाको माहौलबाट सर्वश्रेष्ठता आर्जन गर्ने कुरालाई जोडतोडका साथ उठाए पनि परस्पर संवाद र सहमति पनि लोकतान्त्रिक आचरण, चरित्र र यसको अभिन्न अंगका रूपमा विकास भएको ठान्दछु,’ उनले भने, ‘केन्द्रीकृत अभिव्यक्ति स्वयंमा सहमतिको बाधक भएपनि प्रतिनिधि चयनको प्रक्रियामा आकांक्षी साथीहरूका लागि आफू ब्याक भएर सहमतिका लागि मार्गप्रशस्त गर्न सकिने हुँदापनि सहमतिकै प्रक्रियाबाट केन्द्रीय नेतृत्व निर्माण गर्ने कुरामा आफु उत्तिकै मञ्जुर रहेको छु ।’

उनले बहुदलीय राजनीतिको जगबाट राजनीतिक जीवन आरम्भ गरेकाले पार्टी कामको सन्दर्भमा देश–बिदेशको अनुभवलाई पार्टीको हितमा प्रयोग गर्ने जिकिर गरे । छलछामयुक्त, काइते र घुमाउरा कुरामा होइन, विषयगत कमाण्ड सहित सार्वजनिक जीवनमा श्रमजीविको हक, हित र अधिकार सुनिश्चिततका लागि आफु सदैव तयार रहेको उनको भनाई छ । यसअघि विक्रम सम्वत २०५१ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका बास्कोटाले अनेरास्ववियु एकताको पाँचौं, अभानेस्ववियु र प्रवासी नेपाली संघ (भारत) को नेतृत्व लिँदै पार्टी काममा होमिएका थिए । दिल्लीबाट स्नाकोत्तर तहसम्मको औपचारिक अध्ययन गरेका उनले यसअघि पनि गणतन्त्र प्राप्तिका लागि एमालेको राजनीतिक–बैचारिक नेतृत्वमा सञ्चालित २०६२/०६३ को राजतन्त्र विरोधी जनआन्दोलनको क्रममा दिल्लीमा जेलनेल समेत खेपेका छन ।


‘भारत प्रवासमा नेपाली विद्यार्थीहरुको साझा संगठन अखिल (भारत) नेपाली स्वतन्त्र विद्यार्थी यूनियन निर्माणकालका अध्यक्ष शंकर पोखरेल यतिबेला पार्टीको महासचिव उम्मेदवारको चर्चामा छाइरहेको बेला आफूलाई प्रतिनिधिले केन्द्रीय सदस्यमा कसो नपत्याउलान् ?, प्रतिप्रश्न गर्दै स्काई न्यूजसँग उनले भने, ‘सक्रिय राजनीतिमा संलग्न अढाइँ दशकभन्दा लामो जीवनकालमा आजसम्म कुनै लाभको पद नलिइकन एमाले पार्टी र नेपाली जनताको समृद्धि र अधिकार सम्पन्न गर्नका लागि आफ्नो सुनौलो समय खर्चिएको छु, पक्कैपनि प्रतिनिधि साथीहरले मेरो मूल्यांकन गर्नु हुनेछ ।’

उनले अहिलेपनि देश, विदेश जहाँ रहेपनि अध्ययन र लेखनको तर्कपूर्ण क्षमतालाई अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बलियो ढंगले पेश गर्दै आईरहेको दावी गरे । ‘राजनीतिमा प्राप्त पद र ओहदालाई बजारको वस्तु सरह मोलतौलको विषय बनाउने, भजाउने र कमाउने पात्रगत प्रवृत्तिबाट कोशौं टाढा रहँदै आएको छु,’ उनले भने, ‘विद्यार्थी आन्दोलनबाट आरम्भ आफ्नो राजनीतिक जीवनकालमा रहँदै आएको अविचलित इमान, निष्ठा, सक्रियता र यो पृष्ठभूमिमा नेतृत्वले म माथि गरेको विश्वासप्रति म खुशी छु ।’

सभा, सम्मेलन र सार्वजनिक कार्यक्रमहरूमा राजनीतिक–बैचारिक विषयोपर आफ्ना कुरा निर्धक्क राख्न सक्ने बास्कोटालाई मोरङबासीले मात्रा होइन, देशबासीका लागि पनि उत्तिकै आशलाग्दो नेताका रूपमा बुझ्ने गरिएको उनी सम्बद्धहरु बताउँछन् । अत्यन्तै सरल र सादगी स्वभावका बास्कोटा युवामाँझ अत्यन्तै लोकप्रिय भएकै कारणले एमाले मोरङले उनलाई महाधिवेशन प्रतिनिधि छनौट गरेको हो । उनका सामाजिक सञ्जालका साथीहरूले केन्द्रीय सदस्य भएर आउने सन्दर्भमा शुभेच्छा दिएसँगै उनीप्रति आशा र अपेक्षा चुलिएको उनी सम्बद्ध नेताहरुको भनाइ छ ।

Translate »