काँग्रेस कर्णाली प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

स्काई न्यूज /मंसिर १८, सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेश समितिमा नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी रहेको छ । पार्टीको प्रथम अधिवेशन अन्तर्गत आज दिउँसो अढाई बजे देखि शुरु भएको मतदानमा नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य हृदयराम थानी, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतले आ–आफ्नो मत खसालेका छन् ।

जिल्ला समन्वय समिति सुर्खेत परिसरमा भईरहेको मतदान प्रक्रियामा कर्णाली प्रदेशका १० वटै जिल्लाका नेता, कार्यकर्ता र प्रतिनिधि तथा पर्यवेक्षकको बाक्लो उपस्थिति रहेको छ । मतदानका लागि १२ बजे समय निर्धारण गरेपनि मतदान अढाई बजेदेखि शुरु भएको हो । मतपत्र छपाईमा ढिलाई भएपछि मतदान समय पछि सारिएको निर्वाचन मण्डलले जनाएको छ ।

मतदानका लागि ७ सय ५० प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् । निर्वाचनमा प्रदेश समितिको सभापतिदेखि सदस्यसम्म १०७ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश समितिमा कुल ५९ पदका लागि भएको निर्वाचनमा ५ जना पहिले नै र्निविरोध निर्वाचित भईसकेका छन भने बाँकी ५४ जनाको निर्वाचित हुने निर्वाचन सहायक अधिकृत नारायण कँडेलले जानकारी दिए ।

उनका अनुसार यो समाचार तयार पारुन्जेल ३ सय ५० मत खसेको छ । कर्णालीमा संस्थापन पक्षबाटै सभापतिका लागि ललितजङ्ग शाही र मोतिराज बमले उम्मेदवारी दिनु भएको छ भने संस्थापनइतर पक्षबाट भुपेन्द्रजङ्ग शाहीको उम्मेदवारी परेको छ ।

 

Translate »