नेपाली कांग्रेस कर्णाली अधिवेशनमा साढे ७ सय बढीले मत खसाले

स्काई न्यूज मंसिर १८, सुर्खेत । शनिबार भएको नेपाली कांग्रेसको कर्णाली प्रदेश निर्वाचनमा सात सय ५६ जनाले मतदान गरेका छन् । निर्वाचनमा कर्णालीका १० वटै जिल्लाका प्रदेश प्रतिनिधि, क्षेत्रीय सभापति, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि र शुभेच्छुक संघसंस्थाका प्रतिनिधिलगायतका मतदाताले निर्वाचनमा मतदान गरेका हुन् । कुल ७ सय ७३ मतदाता रहेको कर्णालीमा सात सय ५६ जनाले मतदान गरेको मतदान सहायक अधिकृत नारायण कँडेलले बताए । उनले भने, ‘दिउँसो अढाई बजेदेखि शुरु भएको मतदान ८ बजेसम्म मतदान भएको थियो ।’ सात बजेभित्र मतदानस्थलभित्र प्रवेश गरिसक्नुपर्ने नियमानुसार मतदाता लाइन लागेर ८ बजेसम्म मतदान गरेको उनले बताए । शनिबार राति १० बजेदेखि नै मतगणना हुने बताइएको छ ।

कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा सहमति जुट्न नसकेपछि शुक्रबार देखि उम्मेदवारी मनोनयन दर्ता शुरु गरिएको थियो । निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान १२ बजेदेखि मतदान गरिने भनिएपनि मतदान अढाई बजेदेखि शुरु भएको हो । मतपत्र छपाईमा ढिलाई भएपछि मतदान समय पछि सारिएको थियो । निर्वाचनमा प्रदेश समितिको सभापतिदेखि सदस्यसम्म १०७ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश समितिमा कुल ५९ पदका लागि भएको निर्वाचनमा ५ जना पहिले नै र्निविरोध निर्वाचित भईसकेका छन भने बाँकी ५४ जनाको मतदानबाट निर्वाचित हुने निर्वाचन सहायक अधिकृत कँडेलले जानकारी दिए । मतदानमा नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य हृदयराम थानी, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतले आ–आफ्नो मत खसालेका थिए । कर्णालीमा संस्थापन पक्षबाटै सभापतिका लागि ललितजङ्ग शाही र मोतिराज बमले उम्मेदवारी दिनु भएको छ भने संस्थापनइतर पक्षबाट भुपेन्द्रजङ्ग शाहीको उम्मेदवारी परेको छ ।