कांग्रेसलाई लोकतान्त्रिक मूल्य मान्यतामा हिंडाउने कोशिश गर्नु छ : ओली

२४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई लोकतान्त्रिक मूल्यमान्यतामा हिंडाउने कोशिश गर्नु आफूहरुको कर्तव्य भएको बताएका छन् ।

दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुको स्वागतमा बागमती प्रदेश कमिटीले राखेको स्वागत कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेसको महाधिवेशनमा जानुछ, हाम्रो पार्टीको तर्फबाट शुभकामना दिनुछ ।’

‘नेपाली कांग्रेस पुरानो पार्टी हो, बेसिकल्ली लोकतान्त्रिक भनिने पार्टी हो । त्यो पार्टीलाई पनि लोकतान्त्रिक मूल्यमान्यतामा हिंडाउने कोशिश गर्नु हाम्रो कर्तव्य हो, नत्र हामी एक्लै हुन्छौं ।’

अरु पार्टीहरु पानीको फोका जस्तै भएको उनको टिप्पणी छ । पृथ्वीका वरिपरि थुप्रै तारा जस्तो देखिए पनि त्यो नक्षत्र नहुने भन्दै ओलीले भने, ‘कतिपय स्याटलाइटहरु छन् । वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि कांग्रेस हो ।’

उनले अघि भने, ‘अरु त बन्छन्, विलाउँछन् । पानीको फोका जस्तो बन्छन्, फुट्छन् ।’

Translate »