सुर्खेतमा बजार अनुगमन : आवश्कतामा नभई औपचारिकताको अनुगमन

स्काई न्यूज/ मंसिर २५, सुर्खेत । अनुगमनका नाम अनुगमन हुनु हुँदैन । र बजार अनुगमन पनि कर्मकाण्डी बनाईनु हुँदैन् । तर, पछिल्लो समय सरकारले सुशासन कायम गराउन बजार अनुगमन कार्यलाई तीन तहका निकायलाई जिम्मेवारी दिएपछि आवश्यकतामा नभई औपचारिकतामा हुने गरेको छ । यद्यपि ! नागरिकको दैनिक सरोकारको विषयलाई स्थानीय र प्रदेश सरकारहरुले बजार अनुगमन कायलाई औपचारिकतामै सीमित बनाएका छन् । मौसमी, कर्मकाण्डी बजार अनुगमन आवश्यकतामा नभई औपचारिताका लागि हुँदा नागरिकले सुशासनको अनुभूति गर्न नसकेका हुन् । राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश सस्दय डिलबहादुर खत्रीले नागरिकको दैनिक प्रत्यक्षरुपमा जोडिएको विषयवस्तु बजार अनुगमनलाई तीनै तहका सरकारले प्राथमिकता नदिँदा ओझेलमा पढ्दै गईरहेको बताए । उनले सरकारको नीति, नियम र कानून कार्यान्वयनसँगै सरकारको पहुँच नागरिकसँग पुगे–नपुगेको अनुभूति बजार अनुगमनबाटै मापन हुने गरेको जनाए । उनका अनुसार बजार अनुगमन औपचारिकतामा होइन, आवश्यकतामा हुनु पर्छ । ‘तर, कर्णाली प्रदेश सरकार अन्तर्गतको उद्योग उपभोक्ता हित संरक्षण निर्देशनालयले शुक्रबार गरेको बजार अनुगमन जिल्ला प्रशासन कार्यालयले र वीरेन्द्रनगर नगरपालिकाले गर्ने अनुगमनको अर्को रुप औपचारिकता थियो,’ उनले भने, वीरेन्द्रनगर नगरपालिका र जिल्ला प्रशासन कार्यालयले गर्ने कार्यको सिको होइन, समय सान्दर्भिक आवश्यकतामा बजार अनुगमन हुनु पर्छ ।’ उनले यतिबेला जाडो मौसम सुरु भएसँगै न्यानो लत्ताकपडा क्षेत्रमा बढी मूल्य लिएर ठगी गरेका गुनासा आईरहँदा त्यता अनुगमन केन्द्रित पार्नुपर्ने औल्याए । कपडाको बिलबिजककै ठूलो समस्या रहेको खुद व्यापारीहरुले बताईरहेका बेला प्रदेश सरकारले गर्ने अनुगमन कपडा, सिमेन्ट, कम्प्टर, ईलेक्ट्रिोनिक्स तर्फ लक्षित हुनु पर्ने उनको भनाइ छ । ‘जाडो महिना सुरु भएसँगै न्यानो कपडाको माग बढ्दो छ । लत्ताकपडा क्षेत्रमा चहलपहल बढेसँगै ठगीको सम्भावना पनि उत्तिकै हुन्छ, गुनासा पनि आएका छन्,’ उनले भने, ‘गुनासकै आधारमा अनुगमन पनि त्यतातिर केन्द्रित बनाएर अनुगमन बढाउन जरुरी छ ।’

म्याद नाघेका वस्तुहरु बरामद
यसैवीच उद्योग उपभोक्ता हित संरक्षण निर्देशनालयले शुक्रबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका वस्तुहरु बरामद गरेको छ । निर्देशनालयले बाङ्गेसिमल, भुरेली टोलका विभिन्न १२ वटा पसलमा गरिएको अनुगमनबाट म्याद नाघेका करिब १५ हजारभन्दा बढी मूल्यका खाद्य सामग्री बरामद गरेको हो । म्याद नाघेका खाजा स्नेहा, दालमोठ, बच्चाले खाने चक्लेट, बच्चाले खाने कुल्फी, बिस्कुट, खुर्सानीको धुलो, धनिया पाउडर लगायत सामग्री बरामद गरिएको अनुगमन टोलीले जनाएको छ । गरिएको छ । अनुगमनमा म्याद नाघेका खाद्यन्नसँगै पेय पदार्थहरु समेत भेटिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका माधवप्रसाद न्यौपानेले जानकारी दिए । उनले अनुगमनका क्रममा म्याद नाघेका बरामद सामग्रीहरुलाई नष्ट गरिएको बताए । उनका अनुसार व्यापारीहरुलाई म्याद गुज्रेका सामग्रीहरु विक्री वितरण नगर्न पहिलोपटकका लागि भनेर चेतावनी दिएर छोडिएको छ । आईन्दा फेरी म्याद नाघेका सामाग्री फेला परेमा कानून बमोजिम कार्वाही हुने उनको भनाइ छ । अनुगमन टोलिले खाद्य वस्तुहरु किन्दा म्याद गुज्रेको नगुज्रेको हेरेर मात्र खरिद गर्न उपभोक्ताहरुलाई समेत आग्रह गरेको छ । अनुगमनका क्रममा खाद्य, किराना र मदिराजन्य पदार्थहरु एकै ठाउँ राखेर विक्री वितरण गरेको पाइएपछि तीन दिनभित्र छुट्टाछुट्टै ठाउँबाट विक्री वितरण गर्न निर्देशन दिएको अनुगमन टोलीको भनाइ छ । अनुगमनको क्रममा आवश्यक कागजातबिना पसलहरु सञ्चालन गरिएको, नापतौल सामग्रीहरुको दर्ता नगरिएको भेटिएकाले तत्काल यी सबै पक्रिया पुरा गर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा मूल्यमा एकरुपता ल्याउने, मूल्यसूची राख्ने, बिल लिने दिने व्यवस्था गर्ने, म्याद नाघेका सामग्री भएमा छुट्टै राखी नष्ट गर्न सुझाव दिईएको छ ।

Translate »