१२ देखि १७ वर्ष उमेरकालाई कोरोना खोप

स्काई न्यूज /पुस ३, सुर्खेत । सरकारले आइतबारदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले जानकारी दिइन् । उनका अनुसार कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएका छन् ।

ती जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म सञ्चालन गर्नेछ । यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सोही अवसरमा मन्त्रालयले सञ्चालन गर्दैछ ।
मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म सुर्खेतसहित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली र डडेल्धुराका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ । ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।