हत्या आरोपमा वडाध्यक्ष सहित चार पक्राउ

दीपक शर्मा / पुस ८, सल्यान । सल्यानमा छिमेकीको विवाह भोज खान गएका व्यक्तिको रहस्यमय मृत्यु भएपछि प्रहरीले वडाध्यक्ष सहित चार जनालाई पक्राउ गरेको छ । गत मङ्सिर २० गते दार्मा गाउँपालिका २ पाजाखोलाका ७० वर्षीय टेक बहादुर खत्री विवाह भइरहेको घर नजिकैको गोठमा मृत फेला परेका थिए । खत्रीको मृत्युको विषयमा अनुसन्धान गर्ने क्रममा उनको मृत्यु रहस्यमय भएको पाइएपछि वडाध्यक्ष डिल्ली बहादुर केसी, स्थानीय ३६ वर्षीय राम बहादुर खत्री, ४७ वर्षीय कुल बहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ परेका तीन जनाले वडाध्यक्षको नाम लिए पछि उनलाई अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम प्रकाश यादवले जानकारी दिए । मृतकका आफन्तले हत्या गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तीन जनालाई मङ्सिर २७ गते पक्राउ गरेको थियो भने वडाध्यक्षलाई पुस ५ गते पक्राउ गरेको हो । मृतक खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलबाट लडेर मृत्यु भएको आफन्तले बताउँदै आएका छन् । प्रहरीले वडाध्यक्षले चलाउँदै आएको लु ७१ प ३९२७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । चार जनाको अदालतबाट म्याद थपी अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानकै क्रममा भएकाले हत्या वा मृत्यु भनेर भन्न नसकिने प्रहरीको भनाई छ ।