मौसममा क्रमिक सुधार हुँदै, आंशिक स्थानमा मात्र वर्षा

पुस १५, काठमाडौं  । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिकरुपमा सुधार हुँदै जाने भएको छ ।

उक्त प्रणाली बिहीवारदेखि पश्चिमी भूभागबाट विस्तारै बाहिरने क्रममा रहेकाले मौसममा सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपसमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको थियो । हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानामा हल्का हिमपात भइरहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ८ दशमलव १ डिग्री सेल्सियस रहेको छ ।

Translate »