राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट ६ जनाको उम्मेदवारी

स्काई न्यूज /पुस २०, सुर्खेत । कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचिनका लागि कर्णालीमा रहेको तीन सीटका लागि मंगलबार प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेका गरी ३–३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको तर्फबाट काँग्रेसकी दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट (सुर्खेत) र नेकपा एकीकृत समाजवादीका उदय बोहोरा (सल्यान) ले उम्मेदवारी दर्ता गराएका छन् । गुरुङ महिलाबाट, बिष्ट अपाङ्गताबाट र बोहोराले अन्यबाट उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

उता प्रमुख प्रतिपक्ष एमालेबाट सुर्खेतका चुडामणी शर्मा, गंगा महत र पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन् । कर्णालीमा तीन दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । कर्णालीमा प्रदेश सभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख र उप–प्रमुख तथा अध्यक्ष र उपाध्यक्ष १५६ गरी १९१ जनाले मतदान गर्नेछन् । कर्णालीमा पालिकाको मतभार १८ र सांसदको ४८ रहेको छ ।

 

Translate »