सल्यानमा माटो परीक्षण

दीपक शर्मा / पुस २८,सल्यान । सल्यानमा व्यावसायिक कृषि खेती र फलफूल खेती गर्ने कृषकहरूको बारीमै पुगेर माटो परीक्षण गरिएको छ । उत्पादन हुने क्षेत्रमा कम उत्पादन हुन थालेपछि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको एकीकृत कृषि प्रयोगशाला सुर्खेतले जिल्लाको बागचौर नगरपालिकामा माटो शिविरको आयोजना गरी किसानहरूको माटो परीक्षण गरेको हो ।

पछिल्लो समय किसानहरूले बढी रासायनिक मल र विषादीको प्रयोग गर्ने गरेको र बारीमा माटोको अवस्था बिग्रिँदै गएपछि माटो परिक्षण गरिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख पर्सुराम रावतले बताए । विशेष गरी बागचौर नगरपालिका भित्र फलफूल खेती र तरकारी र आलु खेती बढी उत्पादन हुने भएकाले त्यस क्षेत्रको माटोको अवस्था बुझ्नको लागि शिविरको आयोजना गरिएको उनको भनाई छ । शिविरमा एक सय २९ जना कृषकहरूको बारीको माटो परीक्षण गरिएको छ ।
माटो परीक्षण गरेर माटोको अवस्था थाहा पाएर बिग्रिएको माटोको उपचार गर्नुपर्ने कृषि विकास कार्यालयका सल्यानका प्रमुख भरत बस्नेतले बताए । सिफारिसका आधारमा पालिका र पालिकाका कृषि शाखाहरूसँग समन्वय गरी माटोको उपचार गरिने उनको भनाई छ । (रेडियो नेपाल)