विमानस्थल विस्तारको काम अघि बढ्छ : प्रजिअ रिजाल

स्काई न्यूज /पुस २८, सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सुर्खेत विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने कार्यलाई अघि बढाईने बताएका छन् । जिल्ला प्रशासन कार्यालयले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रजिअ रिजालले कर्णालीको आर्थिक समृद्धि तथा पर्यटकीय विकासका लागि पनि सुर्खेत विमानस्थल विस्तार अपरिहार्य रहेकाले सरोकारवालाको सहयोग तथा समन्वयमा जग्गा अधिग्रहण कार्यलाई अघि बढाईने बताएका हुन् ।
भरखरै सरुवा भएर सुर्खेत आएका प्रजिअ रिजालले विमानस्थल विस्तारलाई पहिलो प्राथमिकतामा राखेर जिल्लाको शान्ति सुरक्षा अमन चयनका लागि आफू कटिबद्ध रहेको बताए । उनले जिल्लामा रहेका अबैध क्रसर उद्योगलाई कानून अनुसार कार्यान्वयनमा ल्याएर उत्पन्न समस्या समाधान गरिने जनाए ।

‘जिल्ला भित्र रहेका विभन्नि समस्याहरुको निराकरणका लागि सबैपक्षको समन्वय र सहयोग अपरिहार्य हन्छ,’ उनले भने, ‘चुनौतीको रुपमा लागु औषध ओसार–पसार नियन्त्रण, चोरी र गुण्डागर्दी उन्मूलनका लागि योजनाबद्ध काम गरिनेछ ।’ उनले आम नागरिकसँग जोडिएको यातायात क्षेत्रका विकृतिलाई निस्तेज गर्ने कार्यलाई तीव्रता दिईने जिकिर गरे ।
उनका अनुसार यातायात र ट्राफिक समस्याको अध्ययन गएर देखिने गरि काम गरिने छ । बजार अनुगमन, विकास निर्मांणमा हुने ढिलासुस्ती तथा अबैध व्यापारमा समेत निगरानी बढाईने उनको भनाइ थियो । भेटमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयबाटै पाईने सेवा प्रवाहमा हैरानी, सास्ती खेप्नु परेको आम नागरिकको गुनसो सम्बोधन गर्न प्रजिअलाई आग्रह गरे ।सकारात्मक कार्यको सुधार आफ्नै कार्यालयबाट गरिनुपर्ने उनीहरुको भनाइ थियो ।