स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न माग

स्काई न्यूज / पुस ३०, सुर्खेत । कर्णालीमा स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न कृषकले माग गरेका छन् । प्रदेश सभा सदस्य नरेश भण्डारीको नेतृत्वमा प्रदेशका कृषकले विहीबार प्रदेश सरकार समक्ष स्याउ तथा ओखर उत्पादक विकास बोर्ड गठन गर्न माग गरेका हुन् । उनीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीलाई मागपत्र बुझाएका छन् ।


‘प्रदेशमा कृषि क्षेत्रको प्रचुर सम्भावनायुक्त हुदाँहुदै पनि समग्रह विकास नहुँदा झण्डै ५२ प्रतिशत बहुआयामी गरिवीको दुश्चक्रबाट उन्मुक्त हुन सकेको छैन,’ मागपत्रमा भनिएको छ, ‘सम्भावनायुक्त कृषि क्षेत्रको विकास नगरी कर्णाली प्रदेशलाई गरिबीबाट मुक्त गर्न नसकिने यथार्यलाई आत्मसाथ गर्दै स्याउ तथा ओखर उत्पादनमा बृद्धि, बजारीकरण र स्याउ तथा ओखर उत्पादक कृषकहरुलाई प्रोत्साहनका लागि विकास बोर्ड गठन गर्न जरुरी छ ।’

कर्णालीका हिमाली तथा पहाडी जिल्लाहरुका अहिलेपनि करिब ३ हजार बढी कृषक स्याउ तथा ओखर खेतीमा संलग्न रहेका छन् । स्याउ तथा ओखर विकास बोर्ड गठन भएपछि कृषकले प्रदेश सरकारबाट स्याउ र ओखर खेतीको विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।

Translate »