सुर्खेतमा निस्सासिएर एकाघरका चारको मृत्यु

स्काई न्यूज /माघ १, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदीमा निस्सासिएर एकैघरका चार जनाको मृत्यु भएको छ । शुक्रबार राती कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका ८ वर्षीय छोरा नीरज र ९ वर्षीय अर्का छोरा चिरञ्जीवी र कल्पाकै दाजुको ५ वर्षीय छोरा सम्राट शनिबार घरमै मृत अवस्थामा भेटिएका छन् ।

कल्पाका श्रीमान कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । उनी जाजरकोटबाट आउँदै गरेकाले घटनास्थल मुचुल्कासँगै शव परीक्षण हुन सकेको छैन् । प्रहरीले शनिबार राति साढे ७ बजे मात्रै घटनाबारे जानकारी पाएको थियो ।

सूचना पाउने वित्तिकै त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरुको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । घरमा कल्पाका ससुरा पनि थिए । उनी शनिबार विहानै बृद्धाश्रम गएका थिए । बेलुका छ बजेतिर फर्केर आउँदा बुहारी र नातिहरुलाई नदेखेपछि उनी बुहारी र नातिहरु सुतिराखेको कोठामा गएका थिए । ढोका लगाएको भित्रबाट आवाज नआएपछि उनले प्रहरीलाई खवर गरेका थिए ।

 

Translate »