सल्यानका दर्जन बढी झोलुङ्गे पुल अलपत्र

माघ ५,सल्यान । सल्यानमा दर्जन भन्दा बढी झोलुङ्गे पुल अलपत्र परेका छन् । निर्माण सामाग्रीको अभावमा खोलाहरूमा निर्माण भई रहेका दर्जन बढी पुल अलपत्र परेका हुन । २०७६ साल देखि निर्माणाधीन झोलुङ्गे पुलमा निर्माण सामाग्री अभाव भएपछि अलपत्र परेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार भेरी नदिको घाटाचौर कुदु, देबस्थल, शारदा खोलाको भुतभुते, छहरे, सिमलतारा, मर्मखोलाको ईख्रा, दार्माखोला सिलिङ्गी, घुसखोला लगायत पुलमा आवश्यक पर्ने निर्माण सामाग्री र लट्ठा नहुँदा निर्माण कार्य अलपत्र परेका हुन ।

सल्यान जाजरकोट जोड्ने घाटाचौर कुदु झोलुङ्गे पुल २७५ दशमलव ८० मिटर लम्बाइको रहेको छ । २ करोड ६ लाख ७९ हजार लागत रहेको झोपु गएको मङ्सिरमा म्याद सकिएर दोस्रो पटक म्याद थप गरिए पनि लट्ठा नभएर रोकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विनोद पुनले बताए । निर्माणका लागि चाहिने अन्य सामाग्री पाइएपनि लट्ठा नहुँदा पुल निर्माण समयमै हुन नसकेको उनको भनाई छ ।

सल्यानका विभिन्न खोलामा निर्माणाधीन पुलमा आवश्यक पर्ने सामाग्री नहुँदा काम रोकिए पछि पटक पटक स्थानीय पूर्वाधार विभागमा अनुरोध गरे पनि अहिले सम्म सामान प्राप्त नभएको पुनले बताए । वारी पारि जोडने लहराको अभावमा निर्माणमा ढिलाइ भएको र आवश्यक सामाग्री ल्याउन पहल भए पनि अहिले सफल हुन नसकेको उनको भनाई छ । सल्यानमा अहिले २७ वटा झोलुङ्गे पुल निर्माण भई रहेको छन् । स्थानीय तह अन्तरगत १८ वटा र प्रदेश सरकार मार्फत ९ वटा निर्माण भई रहेका हुन । चालु आर्थिक वर्षमा स्थानीय तह अन्तरगत ८ वटा र प्रदेश अन्तरगत ५ वटा पुल निमार्ण गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख पुनले बताए ।

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई समस्या परेको छ । समयमै पुल निर्माण नहुँदा वर्षामा खोला बढ्दा आवाज जावत गर्न समस्या भएको कुमाख गाउँपालिका ४ का स्थानीय रण बहादुर वुढाथोकील बताए । झोलुङ्गे पुल निर्माण सहयोग ईकाई कर्णाली प्रदेशका व्यवस्थापक नरेन्द्र केसीले स्थानीय पूर्वाधार विकास विभागले कोभिड सङ्क्रमणका कारण सामान ल्याउन ढिला भएको बताए । उनका अनुसार केही सामान भन्सारमा आइपुगेको र सामानको व्यवस्था गर्न पहल भई रहेको बताए । (रेडियो नेपाल)

Translate »