ग्रामीण बजारमा अखाद्य बस्तुको विक्री वितरण

सागर परियार / माघ २०,जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले फाटफुट रुपमा गर्ने बजार अनुगमन पनि प्रायः मुख्य बजार केन्द्रित मात्रै हुन्छ । १/२ महिनाको एक पटक गरिने बजार अनुगमन त्यो बजार सदरमुकाम केन्द्रित हुँदाको असर ग्रामीण बजारमा देखिएको छ ।

गाउँमा अखाद्य वस्तु व्यापार फस्टाएको छ । ग्रामीण व्यापारीहरूले नागरिकको सोझोपनको फाइदा उठाउँदै मनपरी रुपमा म्याद नाघेका सामान बस्ने गरेका छन् भने चेतना र शिक्षाको अभावले गाउँका नागरिक थाहा नपाएरै दैनिक अखाद्य बस्तु प्रयोग गरिरहेको पाइएको छ ।

लामो समयपछि जिल्ला प्रशासन कार्यालय जुम्ला अगुवाइमा कनकासुन्दरी गाउँपालिकाको गोठिज्युला बजारमा गरिएको अनुगमनले व्यापक अखाद्य बस्तुको विक्री भइरहेको भेटिएको छ । गोठिज्युलाको सानो बजारमै अनुगमनका क्रममा १५ जना व्यापारीले म्याद नाघेका सामान विक्री गरेको भेटिएको हो ।


गाउँघरमा बढी प्रयोग हुने चाउचाउ, बिस्कुट, चकलेट, दालमोट, फेण्टा, जुस लगायतका सामानहरू अखाद्य विक्री भएको पाइयो । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले भने, ‘गोठिज्युलाका १५ जना व्यापारीको ६० हजार बराबरको अखाद्य बस्तु जलाएर नष्ट गरेका छौँ । व्यापारीले म्याद नाघेका सामान जानी जानी बेच्ने गरेको भेटियो । नागरिकमा शिक्षाको अभावले पनि ठगिएका छन् । अबका बजार अनुगमन ग्रामीण बजार केन्द्रित हुन्छन् ।’

अबबाट गोठिज्युला बजारमा खाद्य, खुद्रा र मेडिकलबाट सामान खरिदबिक्री गर्दा मिति हेरेर मात्रै किनबेच गर्न व्यापारी स्थानीयलाई सम्झाइएको सहायक प्रजिअ रिजालको भनाई छ । गोठिज्युला बजार उदाहरण मात्रै हो, जुम्लाको सिंजाको नराकोट, चौधविसका डिल्लीचौर, लासी, उर्थु, पेरे,बजार पानसय क्षेत्रको तातोपानी, लितोकोट, एैरेनी, कुडारी, त्रिवेणी, रारालिहि बजार, भेरीखोला क्षेत्रको ताम्ती, कयारकोट, सर्मी टोप्लाका साना ग्रामीण बजारमा मनपरी रुपमा अखाद्य बस्तु विक्री भइरहेको छ । ठुला बजारका व्यापारीले म्याद नाघेका, म्याद गुज्रिन थालेका दैनिक उपभोग्य सामग्री तिनै साना बजारमा पठाउने गरेका छन् ।

बजार अनुगमन ग्रामीण बजार केन्द्रित नहुँदा व्यापारीले अखाद्य बस्तु बेचेर नागरिकको स्वास्थ्य माथि खेलवाड गरेको भन्दै अबको बजार अनुगमन गाउँ केन्द्रित हुनुपर्ने नागरिक अगुवा राज बहादुर महतको माग छ । ज्युला बजार जस्तै जिल्लाभरि नै छड्के अनुगमन हुन आवश्यक छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटा भने, ‘म्याद नाघेका सामग्री बेचबिखनका विषयमा ठुला डिलरवाला व्यवसायीदेखि साना व्यापारी सम्म दोषी छन् । मिलेमतोमा नै अखाद्य वस्तु विक्री भइरहेको छ । अनिवार्य मूल्य सूचि टाँस्नु पर्ने, मिति हेरेर मात्रै सामान किन्ने विषयमा नागरिक व्यापारिक बीच चेतनामूलक कार्यक्रमको खाँचो छ ।’

Translate »