कर्णाली प्रदेश सभा : विविध कार्यक्रमसहित चौथो वार्षिक उत्सव मनाईयो

स्काई न्यूज /माघ २१, सुर्खेत ।  कर्णाली प्रदेश सभाले विविध कार्यक्रम गरि आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ । कोभिड–१९, का कारण यस वर्ष भर्चुअलरुपमा स्थापना दिवस मनाएको प्रदेश सभाले वार्षिक उत्सवको अवसर पारेर साना–साना कार्यक्रम मार्फत पुस्तक विमोचन, निवन्ध प्रतियोगिता, व्याट्मिन्टन प्रतियोगिता लगायतमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई नगद पुरस्कृतसहित प्रमाणपत्र प्रदान गरेको हो ।

प्रदेश सभाले वार्षिक उत्सवकै अवसर पारेर उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई समेत पुरस्कृत गरेको छ । उत्सवको अवसरमा शुभकामना दिँदै प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश प्राप्तिका लागि शहादत प्राप्त गर्ने शहीदको सपनालाई साकार गर्न सदन, सरकार र नागरिक स्तरबाट समाजवाद उन्मुख अर्थतन्त्रलाई बलियो बनाउन आवश्यक रहेको औल्याए । उनले कर्णालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था मार्फत सशक्त र समृद्ध बनाउन प्रदेशबासीले आफ्नो भूमिका थप बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा कर्णाली प्रदेश सभामुख राजबहादुर शाहीले प्रदेशमा हालसम्म ३८ वटा कानून निर्माण भई केही कानून निर्माण प्रक्रियामा रहेको जानकारी दिए । उनले राष्ट्रिय राजनीतिमा परेको प्रभाव कर्णाली प्रदेश सभामा परेपनि पछिल्लो समय राजनीति दलहरु वीचको सहमति, सहकार्य र आपसी समन्वय गर्दै अघि बढ्ने समझदारी अनुरुप बाँकी कामलाई छिट्टै मूर्तरुप दिने तयारी भएको बताए । त्यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको समृद्धिका लागि बाँकी कार्यभार पुरा गर्न सबै राजनीति दलहरुलाई साथ लिएर अघि बढ्ने धारणा व्यक्त गरे ।

Translate »