हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

सागर परियार/ माघ २२, जुम्ला । भारी हिमपातका कारण अवरुद्ध जुम्लाको हवाई सेवा सञ्चालनमा आएको छ । बिहीबार साँझदेखि भएको भारी हिमपातले धावनमार्गमा बाक्लो हिउँ जमेपछि जुम्लामा विगत तीन दिन देखि हवाई सेवा अवरुद्ध भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा सुरक्षाकर्मी, नागरिक, कर्मचारीको सहभागितामा धावनमार्गमा जमेको हिउँ पन्छाए लगत्तै शनिवार नै जुम्लामा हवाई सेवा सञ्चालनमा आएको हो । शनिवार नै हिउँ पन्छाएर सकिने र उडान हुने सोचेका थिएनौ ।
जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले भने ‘तर सुरक्षाकर्मीको सहयोग र दर्जनौँ गाडी प्रयोग गरेर बिहान ११ बजेदेखि दिउँसो साढे २ बजे सम्म निरन्तर हिउँ पन्छाउन खटिएपछि साबिक कर्णालीकै पहिलो उडान जुम्लामा भयो ।’

हिउँ पन्छाएर सकिए लगत्तै नेपालगञ्जबाट जुम्ला सिता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख अधिकारीले जानकारी दिए । धावन मार्ग सँगै जहाजको पार्किङस्थलको पनि हिउँ पन्छाइ सकिएकोले आइतबारदेखि जुम्लामा नियमित उडान हुने भएका छन् । शनिवार बिहानैदेखि जुटेको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएर सकाएको हो । धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण गर्न सम्भव भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताए ।

धावनमार्गमा झण्डै एक फिट हिउँ जमेको थियो । सबै सुरक्षा प्रमुख सहित सहित सयौँ सुरक्षाकर्मीको टोली विमानस्थलमा पुगेर शनिवारै विमानस्थल खुलाउने लक्ष्यले हिउँ पन्छाएपछि उडान सम्भव भएको प्रजिअ प्रसाईको भनाई छ । गत वर्षहरूमा हिउँ परे पनि यो वर्षभन्दा बाक्लो हिउँ पर्थेन । धावनमार्गमा हिउँ पन्छ्याउनु परेको थिएन । एकै दिनमा हिउँ बिलाएर धावनमार्ग सुक्थ्यो । खासै असर हुन्थेन । तर यो वर्षको हिउँ निकै बाक्लो हिउँ जमेपछि सुरक्षाकर्मीले पन्छाएको नागरिक अगुवा राज बहादुर महतले बताए ।

विमानस्थलको हिउँ पन्छाउनका लागि नेपाली सेनाका ट्रक र जिप, प्रशासनको जिप, नगरपालिकाको डोजर जिप, सडक डिभिजन जुम्लाको डोजर लगायतका सवारी प्रयोग गरिएको थियो । हिउँ बाक्लो जमेकोले हवाई यातायात समेत तीन दिनदेखि चलेको थिएन । प्रशासनको सक्रियता सबैको सहयोगले विमानस्थलको हिउँ पन्छाउने कार्यले निकै उडान भएर नागरिकलाई राहत भएको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले बताए ।

Translate »