कर्णालीमा आज मन्त्रीपरिषद् विस्तार हुँदै

स्काई न्यूज /माघ २३, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी गर्नु भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिना भन्दा बढी समय वितिसक्दा समेत मन्त्रीपरिषद्ले पूर्णता नपाएको भन्दै सत्तापक्षबाटै आलोचना बढ्न थालेपछि उहाँले आज रिक्त ५ मन्त्री नियुक्त गर्ने तयारी गर्नु भएको हो । नयाँ नियुक्त हुन लागेका सम्भावित मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह, काँर्चेन लामा, नेपाली काँग्रेसबाट हिमबहादुर शाही, यज्ञबहादुर बुढाक्षेत्री र समाजवादीबाट पदम रोकायको चर्चा रहेको छ । यता मुख्यमन्त्री शाहीले आज मन्त्रीपरिषद् विस्तारका लागि आवश्यक सबै गृहकार्य पुरा भईसकेको जानकारी दिए ।

उनले कति मन्त्री र को, को नियुक्त हुन्छन भन्ने बारेमा अस्पष्टता जनाएपनि आजै मन्त्रीपरिषद् विस्तार हुने पक्का रहेको बताए । तर, उता सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले भने पूर्वसहमति अनुसार मन्त्रालय भागवण्डा नमिलेको भन्दै असन्तुष्टि जनाएको छ । पूर्व लिखित सहमतिअनुसार नै तीन मन्त्रालय आफ्नो पार्टीले पाउने पर्ने अडान कायमै रहेको समाजवादीका केन्द्रीय उप–महासचिव प्रकाश ज्वालाले बताए । उनले प्रदेश सरकार सञ्चालनमा समाजवादीलाई तीन मन्त्रालय दिने पूर्व सहमतिअनुसारको वटमलाइन लिएर केन्द्रीय नेतृत्वसँग अहिले पनि लविङ्ग गर्ने कार्य जारी रहेको जनाए ।

Translate »