चिसोले जुम्लामा २ जनाको मृत्यु
पाटनमा फसेका ५५ जनाको उद्दार गरिदैं


सागर परियार / माघ २३, जुम्ला । भारी हिमपातका कारण बढेको अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको छ । पाटनमा सेतो चिनी (खिरौला) कोर्न गएका तातोपानी गाउँपालिका तातोपानी ८ की ३७ वर्षीय महिला देवि शाही र तातोपानी ७ बारगाउँका ४६ वर्षका मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए। त्यस्तै खिरौला कोर्न गएका ५५ जना नागरिक बाक्लो हिउँ जमेका कारण पाटनमै रोकिएका छन् ।

भारी हिमपातकै बीच घर आउन खोज्दा अत्यधिक चिसोले दुई जनाको मृत्यु भएको र अनुमानित ५५ जना नागरिक पाटनमै रोकिएको खबर प्राप्त भएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिए । यता सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले हिमपातमा फसेर पाटनमै रोकिएका ५५ जनाको उद्धारका लागि तयारी भइहरेको बताए ।

