कर्णालीका पाँच जिल्लामा ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझै

सागर परियार / माघ २४,जुम्ला । जलवायु परिवर्तनले कर्णालीको रैथाने बाली उत्पादन पछिल्लो समय घट्दै गएको छ । आफ्नै उत्पादनले वर्षको ५र६ महिना नपुग्ने कर्णालीमा वर्षेनी खाद्य संकट निम्तिन्छ । झण्डै साढे ३८ हजार मेट्रिक टन खाद्यान्न कर्णालीमा वर्षेनी अभाव हुन्छ । उत्पादनमा गिरावट सँगै खाद्य संकट निम्तिनुका कारण मध्य सिँचाइको अभाव पनि एक हो ।

सिँचाइ नभएकै कारण समग्र कर्णाली प्रदेशको झण्डै ८२ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो छ । जसमध्ये साबिक कर्णालीको ५ जिल्लामा मात्रै ३० हजार ५ सय २ हेक्टर खेतीयोग्य जमिन सिँचाइ अभावले बाँझो रहेको पाइएको छ । पानीको स्रोत प्रशस्त भए पनि सदुपयोग गर्ने नीति र लगानी नहुँदा कर्णालीका किसान हिउँदे बालीको खेती आकासे पानीकै भरमा गर्छन् । जसले उत्पादन पनि बढी नदिने र वर्षेनी खाद्यान्नको अभाव हुने गरेको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको तथ्याङ्क अनुसार साबिक कर्णालीका पाँच जिल्लामा सिँचाई सुविधाको अभावले ३० हजार ५ सय २ हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको छ । जसमध्ये जुम्लामा १४ हजार ५१, डोल्पामा २ हजार ७ सय ४०, कालिकोटमा ९ हजार २ सय ३४, मुगुमा ९ सय १९ र हुम्लामा ३ हजार ५ सय ९८ हेक्टर खेतीयोग्य जमिन बाँझै छ ।

कर्णालीमा हाल २ लाख १६ हजार ८ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । तर हाल जम्मा ३० हजार ३३ हेक्टर क्षेत्रफलमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । सिँचाइ सुविधा नभएकै कारण हाल कर्णाली प्रदेशभर ८२ हजार ४ सय ५९ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा बाँझै छ । साढे ३ सय सिँचाई आयोजना बन्दैसिँचाई अभावले हजारौँ हेक्टर खेतीयोग्य जमिन बाझिएको, उत्पादन घटेको, खाद्य संकट निम्तिने र वर्षेनी खाद्यान्न आयात गर्नुपर्ने जस्ता विविध समस्या समाधानका लागि कर्णाली प्रदेश सरकारले चालु आवमा साढे ३ सय सिँचाई आयोजना निर्माण गर्ने भएको छ ।

कर्णालीमा रैथाने बाली उत्पादन बढाउने रणनीति अनुसार एकै वर्षमा झण्डै ३ सय ५० बढी सिँचाई आयोजना निर्माण गर्न लागेको हो । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय मार्फत १० वटै जिल्लाका खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयहरूले आयोजना निर्माण गर्ने छन् । जस अन्तर्गत साबिक कर्णालीका पाँच जिल्लामा १ सय ६७ वटा सिँचाई आयोजना निर्माण हुने भएका छन् ।

तथ्याङ्क अनुसार जुम्लामा २२ वटा, मुगुमा २८, डोल्पामा ३७, कालिकोटमा ४२ र हुम्लामा ३५ गरी १ सय ६७ सिँचाई आयोजना निर्माण हुँदै छन् । त्यस्तै दैलेखमा ५० सुर्खेतमा ४३, जाजरकोटमा ३७,सल्यानमा २७ र रुकुम पश्चिममा २९ वटा गरी साढे ३ सय सिँचाइ आयोजनाहरू निर्माण गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ताराकेशर वाग्लेले बताए । आयोजनाको लिष्ट सहित स्टमेट अनुसारको बजेट १० वटै जिल्लामा पठाएर आयोजना निर्माणको काम पनि शुरु भइसकेको वाग्लेको भनाई छ । (रेडियो नेपाल)

Translate »